Logo
१३ बैशाख २०८१, बिहीबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पढ्ने उमेरका काजल बजारको सडक पेटीमा सिलौटो खोप्दै

विराटनगर : सँगै खेल्ने उनकै उमेरका साथी पोशाकसहित झोला बोकेर स्कूल जाँदा उनी टुलुटुलु हेरिरहन्छिन् । आफ्नै उमेरका साथी टाई लगाएर सधै‌ं किताब, कापीसहितको झोला बोकेर स्कूल जाँदा मन चसक्क घोचे पनि उनी भने काम गरिरहन्छिन् ।

सँगैका साथी शिक्षा आर्जन गर्नका लागि स्कूल गइरहँदा उनी भने सडकको किनारामा बसेर ढुंगाकाे सिलौटो र जाँतो खोप्दै ग्राहकलाई त्यसको मूल्य सुनाइरहेकी हुन्छिन् । सुनसरीको इनरुवा बजारको सडक पेटीमा ग्राहकलाई मसला तथा अचार बनाउन प्रयोग गरिने जाँतो र सिलौटो बिक्री गर्नु उनको दैनिकी बनेको छ ।

महिला सशक्तीकरण र निःशुल्क शिक्षाको माग उठिरहेका बेला इनरुवा नगरपालिका–४ निवासी १७ वर्षीया काजल शर्मा स्कूल जाने उमेरमा प्रत्येक दिन जाँतो र सिलौटो बेच्न बिहानै घरबाट निस्किने गरेकी छन् । आर्थिक अभावका कारण उनी सानै उमेरदेखि बुवाले गर्ने काममा सहयोग गर्दै आएकी छन् ।

बुवा गोपाल शर्माले पहाडबाट सानो आकारको ढुंगा ल्याउने र घर–परिवारका सदस्यको सहयोगमा जाँतो र सिलौटो बनाएर बेच्ने गरेको काजलले बताइन् । दैनिक छाक टार्न जाँतो र सिलौटो बेच्नुको विकल्प नरहेको उनी बताउँछिन् । आर्थिकरूपमा अति विपन्न परिवारकी उनी विगत विगत सात वर्षदेखि यसरी काम गर्न थालेको बताउँछिन् । सानैदेखि पढ्ने चाहना भए पनि गरिबीकै कारण आफूले पढ्न नसके पनि बहिनीलाई भने पढाउने चाहना रहेको उनको भनाइ छ ।

बुवा–आमासहित पाँच दिदी–बहिनी रहेको बताउँदै उनले भनिन्– ‘रहर भए पनि गरिबीका कारण आफूले पढ्न नसेके पनि सानी बहिनी तुलसीलाई भने जति पढाउने इच्छा छ ।’ उनका अनुसार तुलसी अहिले कक्षा चारमा पढ्दैछिन् । जाँतो र सिलौटी बेचेर दैनिक दुइ देखि पाँच सय रूपैयाँसम्म कमाएर सात जना परिवारको जीविकोपार्जन हुँदै आएको उनले बताइन् । दाजुले बिहे गरेर छुट्टै बस्न थालेपछि आफूहरू झनै आर्थिक संकटमा परेकाले पढ्न नसकेको उनको गुनासो छ ।

उनले भनिन्– ‘पढ्ने इच्छा भए पनि आयस्रोत नभएकाले दैनिक छाक टार्नकै लागि काम गर्नु परिरहेको छ ।’ कसैले सहयोग गरे आफूले पढ्न चाहेको उनले बताइन् । काजलका बुवा गोपालले चाहेर पनि छोरीहरूलाई पढाउन नसकेको बताउँदै भने– ‘इच्छा भए पनि गरिबीका कारण पढाउन नसकेको छैन ।’ हाल ऐलानी जग्गामा बस्दै आएको बताउँदै उनले भने– ‘आर्थिक अभावकै कारण पुर्खाले गर्दै आएको पेशा छाड्नै सकिएन ।’

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्