Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थोरै समय-धेरै कार्यक्रम : मोदीको भ्रमण तालिका बनाउन हम्मे-हम्मे

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप दिन नसक्दा तिथि सार्वजनिक गर्न ढिलाइ भएको हो । वैशाख २८ मा नेपाल भ्रमणमा आउन लागेका मोदी २९ अपराहन नै फर्कने कार्यक्रम छ ।

यसबीच उनले उच्चस्तरका राजनीतिक भेटघाटका अलावा दुई स्थानमा नागरिक अभिनन्दन र सम्बोधन, अरुण तेस्रो जलविद्युत् तथा काभ्रेको पनौतीमा भारतीय सहयोगमा बन्ने प्रहरी प्रतिष्ठान शिलान्यास गर्ने कार्यक्रम छ । भूकम्पपछि भारतीय सहयोगमा बन्दै गरेको पुरातात्विक क्षेत्र जनकपुरमा पूजाअर्चना, दूतावासमा दिवाभोजसहित सम्मान, गार्ड अफ अनर, राष्ट्रपतिको दिवा भोजलगायतका सबै कार्यतालिका मिलाउन समय अपुग भएको यसमा संलग्न अधिकारी बताउँछन् ।

प्रहरी एकेडेमी र अरुण तेस्रो जलविद्युत् परियोजना संयुक्त पत्रकार सम्मेलनमा नै स्विच थिचेर गर्ने कि भन्नेमा समेत छलफल भइरहेको छ । मुक्तिनाथ यात्रा भने मौसमका कारण यसपटक पनि थाती रहन सक्ने अधिकारीहरूले बताए । भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग ४ वर्षअघि नै सम्झौता गरे पनि औपचारिक शिलान्यास नभएकाले सकारात्मक सन्देशका लागि मोदी स्वयंले शिलान्यास गर्ने कार्यक्रम छ ।

मोदीको भ्रमण तिथि औपचारिक रूपमा सार्वजनिक भएको छैन । तयारी भने तीव्र रूपमा अघि बढेको परराष्ट्र अधिकारीले बताए । मोदीको दुईदिने राजकीय भ्रमणलाई नेपालले तीनदिने बनाउन वैशाख २७ मै आउन आग्रह गरे पनि भारतीय पक्षबाट सकारात्मक जवाफ नआएपछि व्यवस्थापन थालिएको अधिकारीहरूले बताए । प्रधानमन्त्री नियुक्त भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो भन्दै चन्द्रशेखर अधिकारीले कान्तिपुरमा समाचार लेखेका छन् ।

परराष्ट्र सचिव शंकरदास बैरागीले भ्रमणको तिथि दुईपक्षीय समझदारीमा सार्वजनिक हुने बताए । प्रधानमन्त्री केपी ओलीले नियमित ब्रिफिङ लिँदै भ्रमणलाई सन्तुलित र सबल बनाउन सबै निकायलाई निर्देशन दिएको अधिकारीहरूले बताए ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्