Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले-माओवादी कार्यक्रममा लेनिनको फोटो बैनरमा नराखेका कारण चर्कियो विवाद

काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रले लेनिन जयन्तीको अवसरमा गर्न लागेको संयुक्त कार्यक्रम सुरु नहुँदै हडकंप मच्चिएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना तथा भीआई लेनिनको जन्मजयन्तीका अवसरमा आइतबार सभागृहमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताले बिरोध गरेका छन् ।

कार्यक्रममा लेनिनको तस्बिर नराखेको भन्दै विवाद चर्किए पछि कार्यकर्ताहरुले ब्यानर नै हटाएको छन् । आयोजकले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको पृष्ठभूमि तस्बिरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर भएको ब्यानर बनाएको थियो । सभागृहमा स्थिति तनावपूर्ण हुने भएपछि ब्यानर हटाइएको छ । ब्यानर हटाएपछि स्थिति सामान्य भएको छ ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुँनै बाँकी थियो । कार्यकर्तालाई सम्यमित हुन एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ आग्रह गर्दै थिए। कार्यक्रमको सुरु नहुँदै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई सम्बोधन गर्दा धेरै आदरार्थी शब्द प्रयोग गरेको तर, प्रचण्डको सम्बोधनमा नाममात्र भनेको भन्दै माओवादी कार्यकर्ता आक्रोशित भएका थिए ।
माओवादी कार्यकर्ताको आक्रोश त्यत्तिमा मात्र सिमित थिएन ।

उनीहरुले ब्यानरमा एमालेको नाम पूरा लेखिएको तर, माओवादी केन्द्रको भने ’माके’ मात्र लेखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  सम्मानजनक एकताको विषयमा बहस र छलफल भइरहेका बेला भइरहेको संयुक्त कार्यक्रममा माओवादीलाई अन्याय भएको असन्तुष्टी कार्यकर्ताले होल भित्रै गर्न सुरु गरेका थिए । आयोजकले नयाँ ब्यानर बनाउने निर्णय गरेपछि कार्यक्रम स्थलमा पुगे पनि प्रधानमन्त्री ओली र प्रचण्ड मञ्चमा गएका छैनन् । नयाँ ब्यानर ल्याएपछि मात्र कार्यक्रम सुरु गर्ने तयारी एकता संयोजन समितिले गरेको छ ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्