Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र दाहालको आज संयुक्त ‘एकता सन्देश’ : एकिकरण नहुनुको कारणबारे स्पष्ट पार्ने

काठमाडौँ, ९ वैशाख : पार्टी एकताका लागि तय गरिएको सम्भावित मिति टरे पनि एमाले र माओवादीका शीर्ष नेताले सार्वजनिक रूपमा एकताको सन्देश दिँदै कार्यकर्तालाई आश्वस्त पार्ने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संयुक्त रूपमा एकताको सन्देश दिने भएका छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रिय सभागृहमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्भावित मिति टरेसँगै द्विविधा उत्पन्न भएको र एकताको विपक्षमा पार्टी तथा भ्रातृ संगठनका नेताले सार्वजनिक अभिव्यक्ति दिन थालेपछि टुंगोमा पुर्‍याउन शीर्ष नेताले दैनिक घण्टौं छलफल गरिरहेका छन् ।

शुक्रबार र शनिबार लामो समय ओली र दाहालबीच एक्लाएक्लै छलफल भएको छ । शीर्ष तहमा भएका बैठकका प्रगतिबारे दुवै अध्यक्षले पार्टीमा जानकारी गराउने भएका छन् । एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतालाई दाहालसँग भएको छलफलबारे जानकारी गराएका छन् । एकताको सार्वजनिक घोषणा गर्नुपूर्व माओवादीले पार्टीको उपल्लो निकाय केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सदस्य देवेन्द्र पौडेलले बैठकमा एकतालाई टुंगोमा पुर्‍याउनेबारे छलफल हुने बताए । सभागृहको कार्यक्रमबाटै ओली र दाहालले एकतामा देखिएका सार्वजनिक असहमतिलाई निरूपण गरेको स्पष्ट पार्ने बताइएको छ । दुई नेताबीच शनिबार बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा सम्भावित मितिबारे पनि चर्चा भएको निकट स्रोतको दाबी छ ।

‘कार्यदलले सिफारिस गरेको मिति (वैशाख ९) टरिहाल्यो,’ दाहालनिकट एक नेता भन्छन्, ‘अर्को मिति घोषणाचाहिँ यही दिन गर्ने कि भन्ने कुरा छ ।’ वैशाख १८ गते मजदुर दिवसका अवसरमा एकता घोषणा गर्न सक्ने सम्भावना छ । एमाले नेता सुवासचन्द्र नेम्वाङले विवादित विषय मिलाउन दुई अध्यक्षलाई जिम्मा दिएकाले औपचारिक घोषणा पनि त्यही तहबाट आउने बताए ।  ‘उहाँहरू दैनिक छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘प्रगतिको ब्रिफिङ नभएकाले कुन तहसम्म सहमति भएको भन्न सकिएन ।’

पार्टी स्थापना दिवसमा कार्यक्रमको तयारी गरिरहेका एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पनि एकताका लागि सम्भावित मिति तोक्दै एकताको सन्देश दिने बताए । ‘एकीकृत पार्टी घोषणा गर्न केही कानुनी विषय पनि मिलाउनुपर्छ, आजै (आइतबार) त्यो सम्भव नहुने भयो,’ उनले भने, ‘तर दुवै अध्यक्षबाट ऐतिहासिक घोषणा हुन्छ ।’

एमाले र माओवादी केन्द्रबीच एकतामा देखिएका केही विवादित विषय साँघुरिँदै गएको स्रोतको दाबी छ । अन्तरिम विधानमा जनयुद्ध शब्द प्रयोग र केन्द्रीय कमिटीमा प्रतिशत अनुपातमा विवाद देखिएको छ । चुनाव चिह्नका विषयमा भने एमालेको सूर्यमा सहमति भएको छ ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्