Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको चीन जाने तयारीका कारण वैशाख अन्तिम सातामै मोदीको नेपाल भ्रमण

नयाँदिल्ली ९ वैशाख : प्रधानमन्त्री केपि शर्मा ओलीको चीन भ्रमण तयारीबीच सोही समययमा अर्थात वैशाख अन्तिम सातामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले मे दोस्रो साता प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने सन्देश पठाइसकेको छ ।

समाचार श्रोतका अनुसार भारतको पछिल्लो प्रस्तावले काठमाडौंलाई अप्ठ्यारोमा पारेको देखिन्छ । नेपालका प्रधानमन्त्रीहरूले पहिलो विदेश भ्रमण भारतकै गर्ने परम्परालाई निरन्तरता दिएका ओली त्यसपछि उत्तरी छिमेक चीनको भ्रमणमा जाने तयारी सुरु भइसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको साताव्यापी चीन भ्रमण त्यही उद्देश्यमा केन्द्रित थियो । तर, ज्ञवाली काठमाडौं ओर्लंदा–नओर्लंदै दिल्लीले मोदीको नेपाल भ्रमणको मितिसहितको सन्देश पठाइसकेको छ । नयाँदिल्लीको मिति किटानीले नेपाली पक्षलाई अप्ठ्यारोमा पारेको अधिकारीहरूको भनाइ छ ।

‘हामीसँग सल्लाहै नगरी एकपक्षीय ढंगले मिति तोकिएको छ,’ काठमाडौंस्थित एक उच्च अधिकारीले भने । मोदीको भ्रमण मिति तोक्दा नयाँदिल्लीले फेरि एकपटक आफ्नो अनुकूलतामात्र हेर्न खोजेको देखिन्छ । भारतको दक्षिणी राज्य कर्नाटकमा १२ मेमा विधानसभा चुनाव हुँदै छ, जसलाई मोदीको पार्टी सत्ताधारी भाजपा र विपक्षीहरूले पनि प्रतिष्ठाको लडाइँका रूपमा लिएका छन् ।

हाल युरोप भ्रमणमा रहेका मोदी पनि स्वदेश फर्कनासाथ कर्नाटक लाग्नेछन् । कंग्रेस आईलगायत विपक्षी दलले पनि कर्नाटकबाटै मोदी सरकारविरुद्ध माहोल तताउने रणनीति बुनेका छन् । आगामी वर्ष हुने संघीय संसद्को चुनावका लागि कर्नाटकको चुनावले निर्णायक भूमिका खेल्ने सत्ताधारी र विपक्षी दुवैको बुझाइ छ । आफ्नो दोस्रो कार्यकालका लागि निर्णायक मानिएको चुनावलाई मोदीले पनि गम्भीर रूपमा लिएको देखिन्छ ।

त्यसैले चुनाव प्रचार गर्ने अन्तिम दिनसम्म पनि मोदी कर्नाटकमै रहनेछन् । तमिलनाडु, केरलालगायत राज्यबाट विस्तारै फैलँदै गएको मोदी सरकारविरुद्धको जनमतलाई कर्नाटकबाटै रोक्न भाजपाले पूरै शक्ति लगाएको छ । भाजपा अध्यक्ष अमित शाह अड्डा नै जमाएर बसेका छन् त्यहाँ । चुनावको ४८ घण्टाअघिदेखि निषेधाज्ञा लागेपछि उनी दिल्ली फर्कने र लगत्तै काठमाडौं प्रस्थान गर्ने कार्यक्रम बनाइएको छ ।

प्रधानमन्त्रीको चुनावी कार्यक्रम अनुकूल हुने गरी नै दिल्लीले नेपाल भ्रमणको मिति तोकेको सहजै बुझ्न सकिन्छ । चुनावी दौडधुपलगत्तै नेपाल भ्रमणमा जानुका पछाडि प्रधानमन्त्री ओलीको सम्भावित चीन भ्रमणलाई केही पछि धकेल्नु पनि रहेको स्रोतले बताएको छ । चीनसँगको निकट सम्बन्ध र भारतविरोधी जनमतमा टेकेर ओली सत्तामा पुगेको दिल्लीका अधिकारीहरूको बुझाइ छ । पछिल्लो भ्रमणबाट केही आश्वस्तजस्तो देखिए पनि ओलीको चीन भ्रमणका बेला हुन सक्ने सम्झौता र समझदारीप्रति दिल्ली निकै चनाखो देखिन्छ ।

त्यही आशंकाबीच ओलीको चीन भ्रमणअगावै मोदीलाई काठमाडौं उतार्ने रणनीति दिल्लीले बनाएको हो । ‘मोदी नेपाल भ्रमणमा छिट्टै आउन खोज्नु भारत शक्तिशाली प्रधानमन्त्री ओलीसँग सम्बन्ध बनाइराख्न चाहन्छ भन्ने सन्देश नै हो,’ परराष्ट्र मामिलाका जानकार निश्चलनाथ पाण्डेले भने, ‘ओलीको चीन भ्रमणको मिति यकिन नभइसकेकाले पनि भारतबाट प्रस्ताव आएको हुनुपर्छ ।’ त्यसो त उच्चस्तरीय भ्रमणको मिति नयाँदिल्लीबाटै तय हुने प्रचलन नयाँ भने होइन ।

राष्ट्रपतिदेखि प्रधानमन्त्रीको भारत भ्रमण होस् वा भारतबाट हुने त्यही स्तरको भ्रमण सबैमा भारतीय पक्ष निर्णायक बन्दै आएको छ । त्यसैको पछिल्लो उदाहरण ओलीको भारत भ्रमण हो । काठमाडौंमा ओलीको भ्रमणको मिति यकिन गर्न छलफल सुरु हुनुअगावै दिल्लीले मिति तोकेको र त्यसलाई सार्वजनिक गरिदिएको थियो । २३–२५ चैतमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न आफू तयार रहेको सन्देश दिल्लीले दुई साताअघि नै काठमाडौंलाई दिएको थियो । उक्त सन्देश सञ्चार माध्यमहरूमार्फत सार्वजनिक भएपछि नेपाली अधिकारीहरू अवाक् बनेका थिए । र, उनीहरू ‘त्यो त भारतको प्रस्ताव हो, हामीले भ्रमणको निर्णय गरिसकेका छैनौं’ बताइरहेका थिए ।

भारतीय अधिकारीहरूको आग्रहमा नेपाली पक्षबाट औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक नगरिएको नेपालको परराष्ट्र मन्त्रालयले बताइरहँदा भारतले भने आफूले प्रस्ताव गरेकै मितिमा भ्रमणको तयारी बढाइसकेको थियो । र, पछि ढिलो गरी नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक भएको मितिमै प्रधानमन्त्री भारत जाने तय गर्‍यो । प्रधानमन्त्री ओली त्यो भ्रमणमा जाँदा त्यसै समय चीनमा भइरहेको उच्चस्तरीय बोआवो सम्मेलनमा उनको उपस्थिति प्राविधिक कारणले असम्भव हुन पुगेको थियो ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्