Logo
११ बैशाख २०८१, मंगलबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संसारमा नमर्ने कोही छैन अल्लाह’ रिसाउँछन्’ भन्दै साउदीले मानेन बिमा

काठमाडौं : साउदी अरेबियाले कामदारको २४ घण्टा बिमा गर्न नमानेपछि श्रम सम्झौता रोकिएको छ। श्रम मन्त्रालय र नेपालस्थित साउदीका राजदूतबीचको छलफलमा बिमाका विषयमा कुरा नमिलेको हो। नेपालले कामदारको बिमा २४ घण्टै हुनु पर्ने बताएपछि साउदीले त्यसलाई अस्वीकार गरेको छ । श्रम मन्त्रालयका अधिकारीका अनुसार साउदीले अल्लालाई च्यालेन्ज हुने भन्दै २४ घण्टे बिमा अस्वीकार गरेको छ।

छलफलमा साउदीका प्रतिनिधिले ‘संसारमा नमर्ने भनेको अल्ला (भगवान) मात्रै हो, अरु मर्नु स्वभाविक हो, २४ घण्टे बिमा गरेर अल्लालाई चुनौति दिनु हुँदैन’ भनेपछि श्रम सम्झौताको कुरा अगाडी नबढेको श्रम मन्त्रालयले जनाएको छ।त्यसपछि बिमाको विषयलाई कसरी समेट्ने भन्ने अन्योल भएको मन्त्रालयका अधिकारीले बताएका छन्। साउदी अरवको कानुन ईस्लामीक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानून मानिन्छ।

मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदी अरवमा कडा दण्ड दिईन्छ। राजतन्त्रात्मक शासन व्यवस्था रहेको साउदीमा इस्लामधर्म मान्नेहरुको बहुल्यता छ। नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ। बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। युएई र ओमानसँग सम्झौताका लागि प्रक्रिया अगाडी बढेको छ।

२०७४ सालमा झण्डै आधाले साउदी जाने नेपालीको संख्या घटेको छ। अघिल्लो वर्ष ९५ हजार ९ सय ४ जना पुगेको साउदीमा २०७४ सालमा ५४ हजार ३० जना मात्रै गएका छन्। गत वर्षभन्दा ४१ हजार ८ सय ७४ जना कमी हो। फर्किनेको तथ्याँक नराख्दा साउदीमा कति नेपाली कार्यरत छन् भन्‍ने तथ्याँक समेत सरकारसित छैन भन्दै उजिर कार्कीले देशसंचारमा लेखेका छन् ।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्