Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाद्वारा पारमाणविक र क्षेप्यास्त्र परीक्षण ‘स्थगित’ गर्ने घोषणा

उत्तर कोरियाली नेता किम जङ-अनले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने र तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका छन्। कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ, “एप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ।”

सरकारी सञ्चारमाध्यमका अनुसार उक्त निर्णयको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ। किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून जे-इनसँग आउने हप्ता भेटवार्ता गर्दैछन्।  उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आउँदो जुनमा एउटा अभूतपूर्व शिखर बैठक गर्ने अपेक्षा गरिएको छ।

यदि त्यो भए बहालवाला अमेरिकी राष्ट्रपति र कोरियाली नेताबीच बैठक भएको पहिलो पटक हुनेछ।  क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने किमको घोषणापछि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, “यो उत्तर कोरिया र विश्वकै लागि एकदम सुखद खबर हो। ठूलो प्रगति!” यसअघि बिहीवार ट्रम्पले उत्तर कोरिया “निश्शस्त्रीकरणमा गए उसका लागि उज्यालो बाटो उपलब्ध हुने” बताएका थिए।

बिहीवार नै दक्षिण कोरियाली राष्ट्रपति मूनले उत्तर कोरिया “पूर्ण रूपमा निश्शस्त्रीकरणका लागि तयार रहेको” बताएका थिए। उनले दुई कोरियाबीच हुने शिखर बैठकले “ठूलो कल्पना गर्नुपर्ने र रचनात्मक समाधान खोज्नुपर्ने” बताए। मूनले ट्रम्प र किमबीच तय भएको शिखर बैठक सफल हुने पनि बताए।

‘प्योङयाङको घोषणा निकै महत्त्वपूर्ण छ’
तत्काल लागू हुने गरी आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने निर्णय उत्तर कोरियाली नेता किम जङ अनले किन लिए? संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव एवं नेपालका पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यको विश्लेषण यस्तो छ :

उत्तर कोरियाको पारमाणविक अस्त्र र क्षेप्यास्त्रसम्बन्धी विवाद पुरानो हो। अन्तर्राष्ट्रियस्तरमा पारमाणविक अप्रसार सन्धि छ र जुन देशहरूले त्यसमा हस्ताक्षर गरेका छन्, उनीहरूले पारमाणविक प्रसारमा भाग नलिने भनेको छ। उत्तर कोरियाले चाँहि उक्त सन्धिबाट अलग हुने निर्णय गर्‍यो। तर अन्तर्राष्ट्रिय तहबाट उसमाथि दबाब परिरेको छ। अहिलेको उत्तर कोरियाको घोषणा त्यही दबाबको परिणामले हो जस्तो देखिन्छ।

अप्रसार सन्धिमा हस्ताक्षर गरे पनि कतिपय देशहरूले पारमाणविक अस्त्रसम्बन्धी अनुसन्धान गरिरहेका छन्। इरानसँग एउटा सम्झौता भएर उसको कार्यक्रम रोकिएको अवस्था छ। तर सबैको चासो उत्तर कोरियामा छ। किनभने उसले परमाणुसम्बन्धी अनुसन्धान तीव्र रूपमा अघि बढाइरहेको छ। र, त्यसबाहेक ‘डेलिभरी भेहिकल’ भनिने परमाणुसम्म राख्न सकिने क्षेप्यास्त्रमा पनि उनीहरूले बढी प्रगति गरेको हुनाले धेरै चासो र समस्याको विषय बनेको हो। 

विगतमा पनि उत्तर कोरियाले अमेरिकासँग र अन्य राष्ट्रहरू चीन, रुस र दक्षिण कोरियासँग मिलेर विभिन्न किसिमका सम्झौताहरू गर्दै पारमाणविक अस्त्र निर्माण नगर्ने भनेर प्रतिबद्धता गरेको पनि हो। त्यही भएर अहिलेको परिप्रेक्ष्यमा यो एउटा महत्त्वपूर्ण कदम हो। किनभने अबको केही दिनमा नै उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिको तहमा भेटवार्ता हुँदैछ। 

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पनि अबको एक-डेढ महिनाभित्र भेटवार्ता हुने कुरा छ।  त्यो प्रसङ्गमा यो महत्त्वपूर्ण हो। तर यसपछि के हुन्छ, यसको कार्यान्वयन कसरी गरिन्छ र अनुगमन कसरी हुन्छ भन्ने महत्त्वपूर्ण हो।

किमसँग सीआइए प्रमुखले भेटेको ट्रम्पद्वारा पुष्टि
अमेरिका मात्रै होइन जापान, चीन, दक्षिण कोरिया र अरू अन्तर्राष्ट्रिय समुदायले पनि उत्तर कोरियामाथि दबाब बढाइरहेका छन्। राष्ट्रसंघको सुरक्षा परिषद्ले यससम्बन्धी धेरै प्रस्तावहरू पारित गरेको छ। त्यो हिसाबमा दबाबले काम गरिरहेको छ। दबाबका साथै अब नयाँ दिशामा उत्तर कोरियाली विषय जान्छ कि जस्तो छ। उत्तर कोरियाले पारमाणविक अस्त्र कार्यक्रम पूर्ण रूपमा बन्द गर्छ भनेर तत्कालै भन्न सकिने अवस्था छैन।

अहिलेको कदमले कुराकानीको वातावरणलाई बल पुर्‍याउँछ। उत्तर कोरियाली नेताले अलि अगाडि चिनियाँ राष्ट्रपतिलाई भेटे। दक्षिण कोरियाको राष्ट्रपतिलाई केही दिनमै र निकट भविष्यमा अमेरिकी राष्ट्रपतिलाई भेट गर्ने परिप्रेक्ष्यमा अहिलेको कदमको धेरै महत्त्व छ। यी कुराकानीहरूबाट दिगो रूपमा समाधानको बाटो नखुलेसम्म स्पष्ट रूपमा यसले नै एउटा नयाँ मोड लिइहाल्छ कि भन्न सक्ने अवस्था चाहिँ छैन।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्