Logo
१३ बैशाख २०८१, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने मुख्यमन्त्री राउतको घोषणा

जनकपुरधाम, ७ वैशाख : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।

क्रिकेटको लागि विशेष मैदान निर्माण गरिने मुख्यमन्त्री राउतले विश्वस्त पारेका थिए । सोही योजना अनुसार अागामी दिनमा प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने उनले घोषणा गरे । ‘खेलाडीको खेल जीवन सीमित समयको हुने गरेको छ,’ उनले भने-‘खेलाडीहरुको बाँकी जीवन व्यतित गर्ने व्यवस्था हुनुपर्छ । राष्ट्र खेलकुदको विकासप्रति उदासिन छ । खेलाडीको लागि मैदान, सामग्रीको व्यवस्था हुनुपर्छ ।’

तेश्रो दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगितामा देशभरिका टोलीहरु सहभागी छन् । धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्यमन्त्री राउतले ब्याटिङ गरेर उद्घाटन गरेका थिए । प्रतियोगितामा भागलिन नेपाल र भारतका खेलाडी जनकपुर आइपुगेका छन् । जनकपुरमा पहिलोपल्ट टर्फ विकेटमा प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघ धनुषाका विमलेश सिंहले बताए ।

दुई संस्करण म्याटमा खेलाइए पनि यसपालि डीजीएमटी टर्फमा खेलाउन लागिएको र त्यसका लागि ३० यार्डभित्र हरियो घाँस रोपिएको सिहले बताए । विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ७१ हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्