Logo
१२ बैशाख २०८१, बुधबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध, विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइयो

काठमाडौं, ७ वैशाख : मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन् । तत्कालका लागि अाज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएकाे विमानस्थल प्रशासनले जनाएकाे छ ।

रातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन । यसलाई हटाउन केही घण्टा लाग्ने भएकाले उडान अवतरण रोकिएकाे हाे । सकेसम्म १२ बजेदेखि उडान सुचारू गर्ने प्रयास भइरहेकाे विमानस्थल प्रशासनकाे भनाइ छ ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प भएको हो । रनवेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले बतायो ।

नेपालमा उपलब्ध उपकरण र प्रविधिकाे प्रयोगबाट विमान पन्छाउन नसकिएमा भारतबाट उपकरण ल्याउनुपर्ने हुनसक्ने स्रोतले जानकारी दिएकाे छ । यसअघि टर्कीस एयरकाे विमान पन्छाउन भारतबाट उपकरण र प्राविधिकहरू झिकाइएकाे थियो ।

राति १० बजेर ७ मिनेटदेखि विमानस्थल बन्द हुँदा अन्तरराष्ट्रिय उडान ठप्प भएका छन्।अवतरणका लागि आउने अन्तर्राष्ट्रिय विमानहरुलाई भारत र बंगलादेशतर्फ डाइभर्ट गरिएकाे छ । विमानस्थलको ३ हजार मिटर रनवे मध्ये आन्तरिक उडान संचालन गर्न अहिले २५ सय मिटर मात्र धावनमार्ग खुला गरेको छ ।

अान्तरिक उडानलाईएकतर्फी बिन्दु (उत्तरतर्फको बौद्धक्षेत्र) बाट उडाउन र अवतरण गराउन संचालनमा ल्याइएको छ । जहाजमा चालक दलका ४ सदस्य सहित १३९ यात्रु थिए। सबै यात्रु सुरक्षित रहेकाे विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार जहाज धावनमार्गबाट बाहिर जाँदा एजलाईट (किनाराको बत्तिमा) क्षति पुऱ्याएको छ ।

रनवे बाहिर गएकाे (ओभर रनवे भएको) जहाज निकाल्ने प्रयास जारी छ । याे जहाजलेटेकअफ गर्न लागेका बेला प्राविधिक समस्या अाएपछि रिजेक्टेड टेकअफगरेकाे अनुमान गरिएकाे छ ।  विमान रनवे बाहिर माटोमा धस्सिएको छ।जहाज निकाल्न नेपाल एयरलाइन्सका उपकरण र नेपाली सेना परिचालित छन् । उडान संचालनमा ल्याउन अझै २ घण्टा लाग्न सक्ने विमानस्थल टर्मिनल कार्यालयले अनुमान गरेकाे छ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्