Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेस विधिसम्मत चले मात्र नेविसंघ विधिसम्मत चल्छ : नेता सिंह

काठमाडौँ, ६ वैशाख : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधानसम्मत चलेमात्र नेविसंघ विधिसम्मत चल्ने बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसंघ प्रदेश–३ ले आज यहाँ आयोजना गरेको ‘नेविसंघ र वर्तमान दायित्व’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “नेपालको राजनीतिक इतिहासमा नेविसंघको महत्वपूर्ण भूमिका रहेको छ ।”

नेता सिंहले संघको आन्तरिक समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गृहकार्य शुरु गर्न आग्रह गर्नुभयो । पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले काँग्रेसलाई वैचारिक र सांगठनिकरुपमा चुस्तदुरुस्त बनाएर अगाडि लैजान सके मात्र लोकप्रिय पार्टी बन्ने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सामुदायिक विद्यालयमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न नेविसंघ लाग्नुपर्ने बताउनुभयो । “काँग्रेस गुटउपगुटमा लाग्दा नेविसंघसमेत गुटउपगुटमा लागेको छ, यस्तो तरिकाले पार्टी चल्दैन”, उहाँले भन्नुभयो । नेता डा कोइरालाले इतिहासमा पहिलोपटक काँग्रेस र नेविसंघ कमजोर भएको उल्लेख गर्दै पार्टी नेतृत्वले व्यक्ति हारेको छ, पार्टी हारेको छैन भनेर दिएको अभिव्यक्ति गलत मानसिकताको उपज भएको टिप्पणी गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले काँग्रेसभित्र देखिएको सामन्तवादी शैलीलाई परास्त गर्नुपर्नेमा जोड दिदैं “नेविसंघका हरेक विद्यार्थी आत्मनिर्भर भए मात्र कसैले हेप्न सक्दैन,” भन्नुभयो । नेविसंघ प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीले कमजोर काँग्रेसलाई बलियो बनाउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेविसंघको ११ जिल्लामा देखिएको विवाद समाधान गर्न वर्तमान नेतृत्व गम्भीर नभएको आरोप लगाउनुभयो ।

कार्यक्रममा काँग्रेस नेता प्रा डा गोविन्दराज पोखरेल, उमेशजंग रायमाझी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका नेता लीलाबल्लभ दाहाल, मनोज वैद्य, सुशील भट्टलगायतले सबै एकताबद्ध भएर अगाडि बढे मात्र नेविसंघ र काँग्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो । यसैबीच आजै नेपाल विद्यार्थी संघ काठमाडौँले नेविसंघको स्थापना दिवसका अवसरमा शान्तिबाटिकामा दीप प्रज्वलन गरेको छ ।  (रासस)

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्