Logo
१३ बैशाख २०८१, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवा संघको नेतृत्वमा रमेश पौडेल चयन : यी नेताहरु भए विदा, यस्ता छन् नयाँ पदाधिकारीहरु

काठमाडौं, ६ वैशाख : नेकपा एमालेको यूवा भातृ संगठन युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए ।

७ जना उपाध्यक्षमा किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा छन् । यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी गर्दै आएकी दिलु पन्त भने विदा भएकी छन् ।

किरण पौडेल यसअघि महासचिव थिए भने गोविन्द थापा र चन्द्र लामा पहिले पनि उपाध्यक्ष नै थिए । नरेश शाही महासचिव बनेका छन् । उनी यसअघि सचिवको जिम्मेवारीमा थिए । उपाध्यक्षद्वय हस्त शाही र कान्ति बुर्लाकोटी तथा महासचिव नरेश शाही माधव नेपाल समूहका हुन् । अरु सबै केपी ओली समूहका हुन् ।

बैठकले १४ जना सचिव पदमा १३ जनालाई चयन गरेको छ । एकजना भने पछि पदपूर्ति गर्ने युवासंघले जनाएको छ ।सचिवहरुमा राजु कार्की, क्षितिज थेवे, अन्जना अधिकारी, उर्मिला सुनुवार, पुर्ण लामा, सुरेन्द्रमान कार्की, ध्रुव यादव र माधव बास्तोला छन् । यसैगरी बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, हिमाल लिम्बु र दिपक जिएम पनि सचिव बनेका छन् ।

कोषाध्यक्षमा अमित लामा चुनिएका छन् । अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् । अनुशासन आयोग, लेखा आयोग र कार्यालय विभाग प्रमुखहरु स्थायी कमिटीसरह रहन्छन् ।

यी नेताहरु भए विदा 

युवा संघको नेतृत्वमा दिलु पन्तले दावी गर्दै आएकी थिइन् । उनी उपाध्यक्ष थिइन् । तर, उनलाई विदा गरिएको छ ।माधव नेपाल समूहकी पन्त र केपी ओली समूहका तत्कालीन अध्यक्ष राजिव पहारीबीच पटक–पटक द्वन्द्व चर्किने गरेको थियो । पहारी र पन्तसँगै हिदम लामा र अशोक चन्द पनि युवा संघबाट विदा भएका छन् ।

राजिव पहारी प्रदेश सभा सांसद भएकाले उनलाई विदा गरी नयाँ नेतृत्व चयन गरिएको हो । यसअघि कोषाध्यक्ष पदमा रहेका हिदम लामा गाउँपालिका अध्यक्ष बनेकाले उनलाई पनि विदा गरिएको छ । यसैगरी अशोक चन्द वेदकोट नगरपालिकाका मेयर भएकाले उनले पनि युवा संघको राजनीतिबाट विश्राम लिएका छन् ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्