Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति ‘राजा मामा’ को निधन

काठमाडौं, ५ वैशाख : लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’ को निधन भएको छ । उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । राजा मामा उच्च रक्तचापको बिरामी थिए ।

उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् । आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङका अनुसार राजा मामा कुसुन्डाको अहिले अन्तिम संस्कारको तयारी भइरहेको छ ।

उनको श्रीमती र तीन कक्षामा अध्ययनरत एक छोरी छन् । आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङका अनुसार राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । त्यसपछि घरका सदस्यहरुले उठाएर चिया पिलाएका थिए । त्यसको केहीबेरमै उनको निधन भएको हो ।

उनको निधनले लोपोन्मुख कुसुन्डा जाती र सिंगो आदिवासी जनजातीहरुलाई अपुरणीय क्षति भएको गुरुङले बताए ।उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।

 

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्