Logo
१३ बैशाख २०८१, बिहीबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानलाई निलम्बन फुकुवा तयारी : निकासतिर नेपाली क्रिकेट

काठमाडौँ : वैशाख ५, २०७५ : नेपाल क्रिकेट संघ (क्यान) को विधान संशोधन मस्यौदालाई विशेष साधारणसभामार्फत पारित गर्न लागेको कदमलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वागत गरेको छ । नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानको बिहीबार र शुक्रबार विशेष साधारणसभा हुँदै छ । यसले लामो समयदेखिको नेपाली क्रिकेट विवादले निकास पाउने आस सरोकारवालाको रहेको छ ।

क्रिकेट संघको निर्वाचन निष्पक्ष नभएको र नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले झन्डै दुई वर्षअघि क्यानलाई निलम्बन गरेको थियो । त्यसयता आईसीसीले आफ्नै रेखदेखमा नेपाली क्रिकेटको गतिविधि चलाइरहेको छ । विशेष साधारणसभाबाट नेपाली क्रिकेटको विधान पारित भएर अन्य प्रक्रिया अगाडि बढे यसले जुलाईमा हुने आईसीसी वार्षिक साधारणसभाबाट क्यानमाथि लागेको निलम्बन फुकुवा गराउन सक्नेछ । ‘क्यानको तोकिएको विशेष साधराणसभापछि आईसीसीको बोर्ड बैठक तत्कालै बस्नेछ,’ आईसीसीले मंगलबार जारी विज्ञप्तिमा भनेको छ, ‘नेपालको घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं ।

प्रस्तावित विधानलाई कुनै संशोधन नगरी जस्ताको तस्तै पारित गरेमा जुलाईमा क्यानमाथि लागेको निलम्बन फुकुवा हुनसक्छ ।’ क्यान निलम्बनमा रहे पनि नेपाली क्रिकेट टिमलाई आईसीसीले अन्तर्राष्ट्रिय स्पर्धामा खेल्न दिइरहेको छ । क्यान निलम्बनको अवस्थामा आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसन काठमाडौं आएर नेपाली क्रिकेटको निकासका लागि आईसीसीले स्वतन्त्र व्यक्तिहरू समेट्दै सल्लाहकार समिति गठन गरेको थियो । त्यही सल्लाहकार समितिले विभिन्न चरणको बैठकपछि बनाइएको प्रस्तावित विधानलाई निर्वाचित क्यानको विशेष साधारणसभामा पारित गर्न दोस्रोपल्ट लैजान लागिएको हो ।

‘हदैसम्म लचकता अपनाउने’
निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले नेपाली क्रिकेटका सबै विवाद किनारा लगाउन हदैसम्मको लचकता अपनाउने तर प्रस्तावित विधान पास गर्ने अधिकार साधारणसभालाई मात्र भएको र त्यसकै निर्णयअनुसार चल्ने जनाए । विशेष साधारणसभापूर्व मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् । ‘वर्तमान विधानका केही व्यवस्थाहरूमा संशोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भएर क्रिकेटले निकास पाउने अवस्थामा नेपाल क्रिकेट संघ आवश्यक सबै लचकतासाथ प्रस्तुत हुने विश्वास दिलाउन चाहन्छौं,’ प्याकुर्‍यालले भने, ‘साधारणसभामा मस्यौदा विधानको प्रस्तावमाथि गहन छलफल भएर एउटा टुंगोमा पुग्ने विश्वास लिएका छौं ।

संघले सधैं विधि र प्रक्रियाका पक्षमा आफ्नो अडान राख्दै आएको र आगामी दिनमा समेत वैधानिक सर्वोच्चता एवं विधि र प्रक्रियाअनुसार नै नेपाली क्रिकेट अघि बढ्ने सुनिश्चित गर्न चाहेका हौं ।’ सल्लाहकार समितिमा निर्वाचित क्यानबाट अध्यक्ष चतुरबहादुर चन्द र महासचिव प्याकुर्‍यालको प्रतिनिधित्व छ । दुवैले निर्वाचनबाट आएका १७ सदस्यीय पदाधिकारीले मताधिकार नभए पनि साधारणसभामा उम्मेदवार भएर सहभागी हुन पाउनुपर्ने माग राख्दै आएका छन् । ‘१७ वटा बुँदा परिवर्तन भयो, २० वटा बुँदा परिवर्तन भयो भनेर आइरहेको छ ।

विधानमा मूल परिवर्तन भएको त्यही ३–४ बुँदामात्र हो, अरु तपशिल हुन्,’ प्याकुर्‍यालले भने, ‘अहिले १७ जना निर्वाचित पदाधिकारीको मुद्दा पनि त्यागिसकेका छौं ।’ भदौमा क्यानको पछिल्लो विशेष साधारणसभाले सल्लाहकार समितिको प्रस्तावित विधान संशोधन गरेको थियो । त्यसमध्ये क्यानको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयका ७ जना प्रतिनिधि रहनुपर्ने प्रावधान राखिएको थियो । आईसीसीले त्यसलाई राजनीतिक हस्तक्षेप हुने भन्दै अस्वीकार गरेको हो । त्यसपछि क्यानले आफ्ना जिल्लाहरूको निर्वाचन गर्‍यो । ३८ मध्ये ३६ जिल्ला क्रिकेट संघको निर्वाचन भइसकेको छ । यसमा केही अन्योलता देखिएको छ ।

प्रस्तावित विधान पारित भएपछि पुन: जिल्ला निर्वाचन हुनुपर्ने यसका सरोकारवालाहरूले बताउँदै आएका छन् । ‘जिल्लाको निर्वाचन भइसकेको छ, त्यसमा विवाद गरिरहनुपर्ने केही छैन । आईसीसीले जिल्लाको निर्वाचनलाई अस्वीकृत गरिसक्यौं पनि भनेको छैन,’ प्याकुर्‍यालले भने ।  निर्वाचनका लागि अनुगमन समितिले त्यसलाई हेर्ने उनले बताए । उनका अनुसार कुनै विवाद आए त्यसमा छलफल गर्न सकिने तर त्यस्तो केही नभएमा त्यसलाई अनुगमन समितिले स्वीकृति दिनेछ । निर्वाचन अनुगमनका लागि ५ जनाको समिति बनाइएको छ ।

त्यसमा आईसीसीका ३, खेलकुद परिषद् र निर्वाचित क्यानका १–१ प्रतिनिधि रहने प्याकुर्‍यालले जानकारी गराए । विशेष साधारणसभामा आईसीसी प्रतिनिधि अमर शेखसहित पदाधिकारी आउने सम्भावना रहेको उनले सुनाए । ‘साधारणसभामा हामी इमान्दार भएर यो सबै लिएर जान्छौं र राख्छौं । के–के भएको छ सबै स्पष्ट पार्छौं । साधारणसभाले के कस्तो निर्णय गर्छ त्यो त्यतिखेरकै विषय हो,’ प्याकुर्‍यालले भने, ‘नेपाली क्रिकेटको समस्या समाधन हुन्छ भने हामी कुन हदसम्म जानुपर्छ त्यसका लागि तयार छौं ।

विधि, प्रकृयालाई चाहिँ लथालिङ्ग नपारौं भन्ने अडान हाम्रो पहिल्यैदेखिको हो । साधारणसभाले जस्तो किसिमको निर्देशन गर्ला त्यो बमोजिम अगाडि जान्छौं । निकास निस्कन्छ भन्ने आस छ ।’ अहिलेको साधारणसभाले निकास दिने हुनाले सानोतिनो विषयमा नअड्कऔं, प्रमुख विषय सम्बोधन भइसकेकाले निलम्बन फुकुवा हुन्छ भने हदैसम्म लचक हौं भन्ने आग्रह साधारणसभालाई आफूहरूको रहने उनले जनाए । उनले विवाद गरिरहेर नेपालको क्रिकेट अगाडि नबढ्ने हुनाले र आईसीसीको प्रतिनिधिले अब क्यानको निलम्बन फुकुवा हुने बाटोमा जाने हो भने बताएपछि आफूहरूका लागि अन्य विषय गौण भएको जनाए ।

विधान संशोधनका पक्षहरू विशेष साधारणसभालाई आउन लागेका जिल्ला प्रतिनिधिलाई पठाइएको प्याकुर्‍यालले जनाए । यसपल्ट आईसीसीले दिएको झन्डै ७ लाख खर्चमा विशेष साधारणसभा हुन लागेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष चन्द भने थिएनन् । घरायशी कार्यका कारण कञ्चनपुरको महेन्द्रनगरमा रहेका उनको अनुपस्थितिमा ठाकुरप्रताप थापा कार्यवाहक अध्यक्षका रूपमा थिए । जिल्ला क्रिकेट संघहरूका प्रतिनिधिमाझ अध्यक्ष र महासचिवको धार फरक रहेको चर्चा चल्दै आएको छ । प्याकुर्‍यालले भने त्यसलाई ठाडै अस्वीकार गरिदिए । आईसीसीको निर्देशनअनुसार हतार–हतार कार्यक्रम गर्दा अध्यक्ष उपस्थित हुन नसकेको उनले जनाए ।

‘जति विवाद झिक्यो त्यति लम्बिने रहेछ, अब समाधन खोज्नुपर्छ । हेल्चेक्र्याइँ गरेर कसैलाई छाडेर जानसक्ने स्थिति छैन, फेरि यस्तै विवाद रहिरहन्छ । सबैलाई समेटर लैजानुपर्छ । म नै हुनुपर्छ भन्ने छैन, टिम सन्तुलन हुनुपर्‍यो,’ अध्यक्ष चन्दले कञ्चनपुरबाट कान्तिपुरसँग भने, ‘त्यसैले विधान संशोधनमा कहीं कतैबाट रोकावट हुनुहँुदैन । विधान पारित गराएर सहज अवतरण गराउनुपर्छ । त्यसमा कसैले विमति राख्छ भने त्यो धार फरक हुन्छ ।’

प्रस्तावित विधान जस्ताको त्यस्तै पारित हुन नदिन यसपल्ट पनि गम्भिर षड्यन्त्र भइरहेको आरोप दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाको छ । ‘गत साधारणसभामा जस्तै आनाकानी गरेर क्रिकेटलाई पुन: अनिर्णयको बन्दी बनाउन खोजेमा हामी बहुमत जिल्लाका अध्यक्ष कडा बाटो लिन बाध्य हुनेछौं । विधान जस्ताको तस्तै पारित गर्न करिब २५ जिल्लाका अध्यक्षले सहमति जनाइसकेका र अरु जिल्ला, केन्द्रीय समितिका सदस्यसमेत सहमत भइसकेको अवस्था छ ।

अहिले हाम्रो मुख्य उद्देश्य विधानमा कुनै त्रुटि खोज्नुभन्दा पनि विधान पारित गरी क्यानको प्रतिबन्ध फुकुवा गर्दै आजसम्मका उपलब्धि सस्थागत गर्नुपर्ने हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।  क्यानको पत्रकार सम्मेलनअघि उनले यो भनाइ राखेका थिए । यसमा प्याकुर्‍यालले साधारणसभामा आधिकारिक के आउँछ त्यसमा जानु उचित हुने जनाए भन्दै विनोद पाण्डेले कान्तिपुरमा लेखेका छन् । उनले भने, ‘हामी धेरै लचकता देखाएर यो स्थानमा आएका छौं, विभिन्न ठाउँबाट भाँडिने हो कि भन्ने डर पनि छ ।’

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्