Logo
८ बैशाख २०८१, शनिबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय वाणिज्य बैंकका निरौला र राउत जेल चलान, भन्सार एजेन्ट अझै फरार

मोरङ, वैशाख ५ : मोरङ जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक तथा काउण्टर इन्चार्ज पूर्पक्षको लागि जेल चलान भएका छन् । धरौटी रकम बुझाउन नसकेपछि प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर इन्चार्ज तोर्णराज राउत पूर्पक्षको लागि जेल चलान भएका हुन । उनीहरुलाई पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट माल सामान क्लियरिङ गराउन मिलोमतो गरी बैंकलाई ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेको आरोप लागेको थियो ।

मोरङ जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतीको संयुक्त इजलाशले निरौलालाई दुई करोड र राउतलाई २ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका छन् ।

भन्सार एजेन्ट अझै फरार
अदालतले बैंकका कर्मचारीलाई धरौटी मागेर जेल हाले पनि अहिलेसम्म भन्सारमा क्लियरिङ गरेर पैसा नै नभएको बैंकको चेक दिने भन्सार एजेण्टहरु अहिले पनि फरार छन् । अदालतको आदेशपछि बंैकिङ कसुरका मुख्य अभियुक्त भन्सार एजेन्टहरु सुरेश बोहरा र ललित बोहरा फरार छन् ।

सुरेश क्लियरिङ एण्ड फर्वार्डिङ सर्भिस विराटनगरका सञ्चालक बोहराद्वयले विभिन्न कम्पनीका एकाउण्ट पेयी चेक भन्सारबाट राजश्व उठाउने नेपाल सरकारको बैंक खातामा जम्मा गरेका थिए । खातामा पैसा नभएका ती एकाउण्ट पेयी चेकलाई सदर गरेर बैंक ठगी गरेको आरोपमा मोरङ प्रहरीले वाणिज्य बैंकका प्रबन्धक निरौला र काउण्टर इन्चार्ज राउतलाई गएको फागुनको दोश्रो हप्ता पक्राउ गरेको थियो ।

घटना बाहिरिएलगत्तै बोहरा दाजुभाइ फरार रहेका छन् । बैंक कर्मचारी र भन्सार एजेन्टको मिलोमतोमा आठवटा एकाउण्ट पेयी चेक वाउन्स भएर वाणिज्य बैंकमा भेटिएका थिए । बैंकका कर्मचारीले एजेन्टबाट रकम नभएको चेक बुझेका कारण बैंकलाई ९ करोड ६१ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्