Logo
१७ बैशाख २०८१, सोमबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वर्षकी मनिषा डोमलाई बिद्यालय भर्ना गराउन प्रधानमन्त्री आज सिरहा जाँदै

काठमाडौं, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा जाँदै हुनुहुन्छ । कल्याणपुरमा रहेको रामदुलारी मावि पुगेर उहाँले एक बालिकालाई स्कुल भर्ना गर्ने कार्यक्रम छ । ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई उहाँले स्कुल भर्ना गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देशभरमै कम साक्षरता रहेको डोम समुदायका बालबालिकालाई पढ्न पठाउने अभियान अनुसार प्रधानमन्त्री आफैं स्कुल पुगेर बालिकालाई भर्ना गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार यसअघि मुगकी एक बालिकालाई स्कुल भर्ना गरिसक्नुभएको छ । मुगुम कार्मारोंग गाउँपालिकाकी ६ वर्षीया थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले १ गते स्कुल भर्ना गरिदिनुभएको हो । प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गर्नुभएको छ । यसअनुसार मन्त्री, सांसद तथा कलाकारले देशका बिभिन्न ठाउँका बालबालिकालाई स्कुल भर्ना गरेका छन् ।

सरकारले हिजो कर्णालीबाट विद्यालय भर्ना अभियानको औपाचारिक सुरुवात गरिसकेको छ । तर भर्ना अभियान सुरु गरेपनि अबको १५ दिनमा ३ लाख भन्दा धेरै बालबालिकालाई विद्यालय भर्ना गराउनु चुनौतीपूर्ण देखिएको छ । शिक्षा विभागका अनुसार ५ देखि १२ वर्ष उमेर समुहमा ३ लाख १३ हजार २ सय ८९ बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर छन् ।

त्यसमा पनि ५ देखि ९ वर्षसम्मका ८८ हजार २ सय ७ जना बालबालिका कक्षा १ मा भर्ना हुनुपर्नेछ । यी बाहेक झण्डै डेढ लाख विद्यार्थी विद्यालयमा भर्ना भए पनि बीचैमा पढाई छाड्ने गरेका छन् । पढाई छाड्ने सबैभन्दा बढी तराईका दलित र गरीब बस्तीका बालबालिका छन् । जिविकोपार्जनको काम बच्चालाई समेत लगाउनुपर्ने बाध्यता रहेको परिवारले बताएका छन् ।

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनु र ल्याइहाले पनि टिकाउन चुनौती रहेको शिक्षाविद्को भनाई छ । सरकारले हरेक वर्ष बैशाख २ गतेदेखि १५ गतेसम्म विद्यालय भर्ना अभियान गर्दै आएको छ । यस्तै १६ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम पनि गर्ने गरेको छ । तर पनि यी बालबालिकालाई विद्यालय भर्ना गराउनु चुनौतीपूर्ण देखिएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्