Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत ऊर्जा बैठक : विद्युत् व्यापार, प्रसारणलाइन र इनर्जी बैङ्किङ विषयमा छलफल

काठमाडौं : ऊर्जासम्बन्धी नेपाल–भारत दुई देशीय पाँचौं बैठक भारतको नयाँ दिल्लीमा शुरू भएको छ । बैठकको पहिलो दिन सोमवार नेपाल–भारत संयुक्त कार्य समूह (जेडब्ल्यूजी)को बैठक सम्पन्न भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोली र भारतीय समकक्षी पावर मिनिष्ट्री अफ इण्डियाकी ज्वाइण्ट सेक्रेटरी श्रीमती भारती नेतृत्वको टोलीबीच उक्त बैठक सम्पन्न भएको हो । बैठकमा विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन तथा इनर्जी बैङ्किङका विषयमा छलफल भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय नेतृत्वको नेपाली टोली र भारतीय समकक्षीबीच संयुक्त निर्देशन समिति (जेएससी)को बैठक हुनेछ । गत पुसको पहिलो साता बस्ने तय भएका यी दुवै बैठक नेपालले भारतबाट आयात गरिरहेको विद्युत्को मूल्यवृद्धि हुने विषयमा कुरा नमिल्दा स्थगित भएको थियो । तत्कालीन ऊर्जामन्त्री कमल थापाले विद्युत्को मूल्यवृद्धिको अपजश आफ्नो कार्यकालमा नजोडियोस् भन्ने मनसाय राखेपछि बैठक हुन नसकेको हो । त्यसअघि पनि मङ्सिरमा तय भएको बैठक सरेको थियो ।

यसअघिको बैठक २०७३ को फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । उक्त बैठकले तय गरेका विषयमध्ये आधा अझै अन्योलमा छन् । बैठकले निर्णय गरेकामध्ये ढल्केवर–मुजफ्फरपुर प्रसारणलाइन ४ सय केभीमा स्तरोन्नति भएको छ । त्यसैगरी १ सय ३२ केभी क्षमताका दुई प्रसारणलाइनबाट थप बिजुली ल्याउन थालिएको अभियानमा लेखिएको छ । तर, बैठकले निर्णय गरेअनुसार बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन तथा माथिल्लो कर्णाली र अरुण तेस्रोको प्रसारण प्रणाली अझै अघि बढेको छैन ।

ऊर्जा खरीदविक्री सम्बन्धमा सन् २०१४ मा दुई देशबीच सम्पन्न सम्झौता (पीटीए)यता यी बैठक सञ्चालन हुँदै आएका छन् । तर, पीटीए कार्यान्वयनका लागि गरिँदै आएको भनिएको बैठकले आजसम्म सो विषय टुङ्ग्याउन सकेको छैन । उल्टो भारतले ल्याएको सीमापार विद्युत् व्यापार निर्देशिकाका कारण पीटीए अन्योलमा परेको छ । यी बैठकले उक्त विषय पनि निष्कर्षमा पु¥याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताउँदै आएको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्