Logo
१३ बैशाख २०८१, बिहीबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिच्छविकालदेखि नै निरन्तर चलिआएको ऐतिहासिक कान्तिभैरव जात्रा शुरु

काठमाडौँ : लिच्छविराजा मानदेवले चलाई हालसम्म निरन्तर चलिआएको ऐतिहासिक, साँस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा आइतबार मध्यरातदेखि गोकर्णेश्वरमा शुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आआफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा शुरु हुने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ ।

वैशाखकृष्ण अमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासूबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्छ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं पूर्वगाविस उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउनुहुन्छ । “यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठोमसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ”, कान्तिभैरवको गुठियार समेत रहेका उहाँले भन्नुभयो ।

जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षक रुपमा सिँगारिएको तीनतले खटमा विराजमान गराइन्छ । ती रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइँदा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्छन् । चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन् । गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्छन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । सो मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजूरसहितको सिंहासनलाई तीन पटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । सो अवसरमा बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोल टोलमा घुमाउने काम शुरु हुन्छ ।

भातको देवता अर्थात् ‘भाते द्यौ’लाई कान्तिभैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन गुठियारले एक एक पाथीे भातको देवता बनाउँछन् । पाक्तापाक्तैको भात झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुई जनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीयवासी रामदास श्रेष्ठ बताउनुहुन्छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्छन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्छन् । जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको ११ वर्षदेखि जात्रा हेर्दै आउनुभएकी पूर्णिमा श्रेष्ठ बताउनुहुन्छ ।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र विसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागी बीचमा तँछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।

आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पु¥याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास यस क्षेत्रका मानिसमा लिच्छविकालदेखि रहेको कान्तिभैरव जात्राका विषयमा त्रिविबाट संस्कृति विषयमा स्नातकोत्तर तहको शोध गर्नुभएका बटुराम भण्डारी बताउनुहुन्छ । रथ बिसाइएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेर मात्र सिन्दूर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको जानकारी उहाँले दिनुभयो ।

रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा, नयाँपाटीलगायत स्थानमा पनि बलिसहित पूजा गरिन्छ । सिन्दूर जात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात् लाछीमा लगी राखिन्छ । श्रीगणेश र श्रीकुमारीको रथ पनि त्यहाँ सिँगारेर राखिएको हुन्छ । यहाँ श्रीभैरव, श्रीगणेश र श्रीकुमारीको तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । तीनै देवीदेवताका रथ पुनः सिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा घुमाइन्छ ।

औँसीका दिन साँझ डबलीका दायाँबायाँ गणेश र कुमारी एवं बीचमा भैरवको रथ बिसाइएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन केपूजा गरेपछि मात्रै रथ उठाइन्छ । गोकर्णेश्वर नगरपालिका – ४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसका पाँच आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित भैरवको तान्त्रिक पूजा गरी बलि चढाइन्छ ।

यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजूरमा जुधाएर रथ उठाई डठुलाछीमा लगिन्छ । सो दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्छन् । यसरी पूजा गरेपछि स्थानीयवासीले आफन्त र कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ ।

वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथ गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराइएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुन्छ ।

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रशस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपतिनाथ अमालकोट र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन् । जात्राका लागि सरोकार निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुश्किल परेको गुठियारको गुनासो छ ।

यही जात्राका नामबाट कान्तिपुर नगरको नामकरण गरिएको जिकिर गरिन्छ । त्रिविमा संस्कृति विषयका प्रा मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराको विषय उल्लेख गर्नुभएको जात्राका विषयमा स्नातकोत्तर शोध गर्नुभएका भण्डारीले जानकारी दिनुभयो । मध्यरातिदेखि शुरु हुने जात्रा भए पनि स्थानीयवासीको सहभागिता भव्य हुन्छ । मध्यरातमा हुने जात्रा भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु सो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको स्थानीयवासी श्यामकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्