Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय निकुञ्जमा हुर्काइएका थप ६ वटा गिद्ध प्रकृतिमा छाड्न लगियो

चितवन : चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध प्रकृतिमा छाड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गतवर्ष कोरलिएका चारवटा बच्चा र एक जोडी माउ गिद्ध जटायु रेष्टुरेण्ट पठाइएको थियो । यसअघि गत वर्ष प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध जटायु रेष्टुरेण्टमा राखिएको थियो । खोरमा राखिएका ती गिद्ध केही महिनाअघि प्रकृतिमा खुल्ला छाडिएको हो । खड्काका अनुसार हाल लगेका छ वटा गिद्ध पनि सोही खोरमा राखिएको छ । केही महिनापछि ती गिद्धलाई प्रकृतिमा छाडिने उहाँले जानकारी दिनुभयो ।

हाल प्रजनन केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् । जसअनुसार गतवर्ष कोरलिएका चार र यस वर्षका छ वटा बच्चा रहेका छन् । अन्य भने माउ गिद्ध हुन् । प्रजनन केन्द्र हेर्दै आउनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी डाक्टर विकल्प कार्कीका अनुसार यस वर्ष २१ वटा अण्डा पारेको भए पनि छ वटा बच्चामात्रै कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चार वटा भुइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् ।

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आएको छ । कार्कीका अनुसार राँगालाई ल्याएर एक साताभन्दा बढी समय स्वास्थ्य अवस्था हेरेपछि मात्रै काटेर गिद्धलाई खुवाउने गरिन्छ । प्रकृतिमा गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो । प्रजनन केन्द्रमा गिद्ध हुर्काएर प्रकृतिमा छाड्ने यो अभियान विश्वमा नै नेपालमा सफल भएको मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना वनाएको छ । यद्यपि ढिला गरी सन् २०१६ मा छाड्ने भनिएको छ वटा गिद्ध केही महिनाअघि मात्रै छाडिएको छ ।

प्रकृतिमा छाड्ने गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्