Logo
८ बैशाख २०८१, शनिबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः सुखिभार क्षेत्रमा भेटियो हिंस्रक ‘ध्रुबे हात्ती’

चितवन : कुनै बेला आतंकको पर्याय बनेको चितवनको बहुचर्चित ‘ध्रुबे हात्ती’ आइतबार बिहान निकुञ्जको सुखिभार क्षेत्रमा भेटिएको छ । ‘ध्रुबे हात्ती’ आतंकको पर्याय नै हो । चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केर बस्ती छिर्दै धमाधम मान्छेको ज्यान लिन थालेपछि ‘ध्रुबे’ लाई मार्ने निर्णयसमेत भयो । उसलाई मार्नका लागि १६ लाख रुपैयाँ खर्च भयो । तर एकाएक हराएको हात्ती भेटिएको छ ।

निकुञ्जको पश्चिम क्षेत्र सुखिभार जंगलमा आइतबार बिहान देखा पर्दा ‘ध्रुबे’ आफ्नो पहिलेको स्वभावभन्दा विपरीत इएको छ । निकुञ्ज वरपरका गाउँका १५ जनाको ज्यान लिएपछि सरकारले ‘ध्रुबे’ मार्नका लागि हेलिकप्टरसमेत परिचालन गर्‍यो । तर, उ एकाएक बेपत्ता भयो ।

वि.सं. २०६६ साल माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको उसले तीन वर्षमा १५ जनालाई मारेपछि चितवन र खास गरेर माडीको अवस्था आतंकपूर्ण थियो । ०६९ सालको पुस १ गते बसेको चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो ।

त्यसपछि हात्ती नियन्त्रणमा लिन निरञ्तर दुई हप्तासम्म टोली जंगलमा परिचालित भयो । हात्ती नियन्त्रणमा लिन त्यो बेला १८ वटा घरेलु हात्ती, ४० जना निकुञ्जका कर्मचारी, सेनाको ३२ जनाको विशेष टोली र राष्ट्रिय प्रकृति संरक्षण कोषका सातजना कर्मचारी खटिएका थिए ।

त्यसपछि हात्तीलाई डार्ट (बेहोस) गराएर रेडियो कलर राख्नुका साथै उत्तेजना कम हुनका लागि माद रोकिने औषधि दिइएको थियो । हात्तीको घाँटीमा बाँधेको रेडियो कलर सोही वर्षको माघ २४ मा पर्सा जिल्लाको निर्मलवस्ती नजिक जंगलमा भेटिएको थियो । त्यसअघि नै पुस १५ गतेदेखि नै हात्ती सम्पर्कविहीन भएको थियो ।

‘शनिबार राति आएर अलि उत्पात मच्चायो । पोष्टको भाले हात्ती पारसगजलाई पनि हानेर घाउ बनाएको छ । पोथी तीर्थमानकलीको सिक्री नै चुडाएर सँगै लिएर गएको हो’ माहुते राजेशले भने । पोष्टभन्दा लगभग एक किलोमिटर पर घोलसँगैको झाडीभित्र आइतबार बिहान देखिँदा ‘ध्रुबे’ र तीर्थमानकली सँगसँगै थिए । तर माहुतेलाई यसको मेसो थिएन ।

‘म त भित्रै जंगलमा लगेको होला भन्दै थिए । नजिकै रहेछ । अब एक दुई दिनपछि फर्केर आउँला’ माहुते राजेशले भने ।निकुञ्जको सुखिभार पोष्टमा सिक्रिले बाँधेको पोथी हात्तीलाई सँगै लैजान उसले एक महिनादेखि दाउ हेर्दै आएको थियो । सुखिभार पोष्टमा दुईवटा हात्ती छन् । एउटा भाले हात्ती छ जसको नाम पारसगज हो ।

अर्को पोथी हात्ती तिर्थमानकली छ । सुखिभार पोष्टका माहुते राजेश सिंहका अनुसार ‘ध्रुबे’ एक महिना अघिदेखि पोथी हात्ती तिर्थमानकलीसँग नजिक हुँदै थियो । पोथीसँग बसेपछि भाले हात्ती आक्रमक हुन छाड्छन् । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जमा ३१ पोथी र २७ भाले हात्ती छन् । तर धेरै जसो पोथी हात्तीको गर्भाधान जंगली भाले हात्तीबाटै हुन्छ ।

पश्चिम क्षेत्रमा ध्रुबे र पुर्वी क्षेत्रमा रोनाल्डो नामको जंगली भाले हात्तीबाट निकुञ्जका धेरै पोथी हात्तीलाई गर्भधान हुने गरेको छ । भाले हात्तीहरु पोथी हात्तीसँग यौन संसर्ग गर्न नपाउँदा आक्रमक हुने माहुतेहरुको अनुभव छ । ‘पोथी हात्तीसँग बस्न रमाउन पाएपछि अब ध्रुबे त्यस्तो खतारनाक हुँदैन । त्यही भएर मैले बिहान पोष्टको भाले हात्ती चराउन हिँडेको छु’ माहुते राजेशले भने ।

‘पाँच वर्षअघि एकाएक हराएको सो हात्ती दुई तीन वर्षयता फेरि देखिएको छ । तर पहिलाको जस्तो कुनै आवेग र हिंस्रक स्वभाव खासै छैन’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले भने । हात्ती राम्रो स्मरण शक्ति भएको र विवेक पनि प्रयोग गर्न सकिने जंगली जनावर हो । मान्छे मार्दै जाँदा हेलिकप्टर समेतले पिछा गरेपछि अब मान्छेमाथि जाइलाग्नु हुँदैन भनेर हात्तीले सोचेको पनि हुन सक्ने त्यो बेला ध्रुबे नियन्त्रणमा खटेका एकजना अधिकारीले बताए ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्