Logo
७ बैशाख २०८१, शुक्रबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा रहेको विश्वकै सबैभन्दा गहिरो गल्छीको अवस्था दयनीय

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।

लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ ।

सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा भाग पुरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा प्रदेश नं ४कै मुख्य मार्ग मानिएको सडकखण्डमा काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदूरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छीको अस्तित्व संकटमा परेको हो ।

“गल्छी हेर्न गएका पर्यटक निराश भएर फर्कछन् । सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन”, अन्नपूर्ण–३ का वडासदस्य हस्तबहादुर पुनले भन्नुभयो ।

“साँघुरो गल्छी भएकाले खसालिएका ठूला ढुंगा बर्खाको समयमा समेत बगाउन मुस्किल हुने भएकाले समयमै संरक्षणका लागि पहल आवश्यक छ”, उहाँले जोड दिनुभयो । स्थानीयवासीले सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतीक्षालय, पदमार्ग बनाइए पनि बजेट अभावमा यसको मर्मत हुन सकेको छैन ।

विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । छिमेकी देश चीनको तिब्बतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालीगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ । “पूर्वाधारको अभावका कारण धेरै समस्या भइरहेको छ । अझै गल्छी नै संकटमा परेको अवस्थामा सबैको चासो पुग्नुपर्छ” धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भन्नुभयो । उहाँले रुप्से झरना र अन्धगल्छी विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा उल्टो जलविद्युत् आयोजना बनाउने र सडक विस्तारका नाममा गल्छीको नाश गर्न खोजिएको आरोप लगाउनुभयो ।

भकिम्ली छोटो दूरीको सुन्दर पर्यटकीय गन्तव्य

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथि रहेको स्वर्गाश्रम मन्दिर र बेलढुंगामा सामान्य पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सक्ने हो भने भकिम्ली सदरमुकाम बेनीदेखि छोटो दूरीको सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाले बताएका छन् ।

प्रदेश नं ४ का सांसद विनोद केसी, बेनी नगरपालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरुले हालै अवलोकन भ्रमणपछि सो कुरामा जोड दिएका हुन् ।
सांसद केसीले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा ध्यान दिनुपर्ने र यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दिगो विकास गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने हुँदा यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले स्वर्गाश्रम तथा बेलढुंगाको विकासका लागि स्थानीय र जनप्रतिनिधिले ध्यान दिनुपर्ने र जिल्लामा रहेका पर्यटकीय र धार्मिक क्षेत्रको विकास गरी म्याग्दीलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

प्राचिन कालमा स्वर्गाश्रम मन्दिरमा ऋषि एवं माताहरु आएर तपस्या गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । स्वर्गाश्रम र बेलढुंगाबाट म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र, विभिन्न जिल्लाका साथै डाँडाकाँडा र धौलागिरि एवं अन्नपूर्ण रेञ्जका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्