Logo
१५ आश्विन २०७९, शनिबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी, ऋणी र सञ्चालकको मिलेमतोमा बैङ्क डुबाउनेहरु बढ्दै

काठमाडौं : चालू आर्थिक वर्ष (आव)मा बैङ्किङ कसूरमा वृद्धि भएको छ । बैङ्क तथा वित्तीय संस्थाको सुशासन कमजोर हुँदा कर्मचारी, ऋणी र सञ्चालकको मिलेमतोमा त्यस्ता कसूरको सङ्ख्या र रकम अपचलन पनि बढ्दै गएको हो ।

चालू आवको चैत १५ सम्ममा रू. २१ करोड ६२ लाख ९७ हजार रुपैयाँबराबरको घोटला भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को तथ्याङ्क छ । सो रकम गत ४ आवमा बैङ्किङ कसूरका मुद्दाबाट बिगो मागदाबी भएको कुल रकमको ४२ प्रतिशत हो । आव २०७१/७२ देखि चालू आवसम्म बैङ्क तथा वित्तीय संस्थाबाट ५१ करोड १९ लाख ५२ हजार रुपैयाँ हिनामिना भएको सीआईबीले बताएको छ ।

गत ४ वर्षको कुल बिगो मागदाबीमध्ये आव २०७१/७२ मा ३१ दशमलव १३ प्रतिशत भएको देखिन्छ भने आव २०७२/७३ मा ९ दशमलव ६४ प्रतिशत र २०७३/७४ मा १६ दशमलव ९८ प्रतिशत बिगो मागदाबी भएको सीआईबीका डीएसपी श्याम ओलियाले जानकारी दिए । पछिल्लो समय बैङ्किङ कसूरका घटनामा पक्राउ पर्ने र कारबाही हुनेको सङ्ख्यासमेत बढेको छ । चालू आवमा बैङ्किङ कसूरमा ४१ जना पक्राउ परेको उनले बताए । गत ४ वर्षयता २९ ओटा बैङ्किङ कसूरसम्बन्धी मुद्दा सीआईबीमा दर्ता भएका छन् ।

गत मङ्सिर १४ गते कृषि विकास बैङ्क न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँबराबरको रकम अपचलन गरेको आरोपमा चार जना कर्मचारी पक्राउ परे । सो घटनामा बैङ्क कर्मचारीले विभिन्न व्यक्ति तथा संस्थाले आप्mनो खातामा जम्मा गरेको चेकलाई पुनः प्रयोग गरी विद्युतीय कारोबारमार्फत कृषि विकास बैङ्कमा रहेको आफ्नो र आफन्तको खातामा जम्मा गर्ने गरेको खुलेको थियो ।

यसैगरी गत फागुन ८ गते अरूको जग्गा देखाई माछापुछ्रे बैङ्कबाट कर्जा लिएर १ करोड ४२ लाखको रकम हिनामिना गरेको आरोपमा १ जनालाई सीआईबीले पक्राउ गरेको अभियानमा लेखिएको छ ।

यसबाहेक एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्नेहरूलाई समेत सीआईबीले पक्राउ गरेको छ । यस्तै चैत २ गते साढे १ अर्ब रुपैयाँ घोटला गरेको आरोपमा तत्कालीन एपेक्स डेभलपमेण्ट बैङ्कका सञ्चालकसहित १७ जना बैङ्किङ कसूरको अभियोगमा पक्राउ परे । एपेक्स डेभलपमेण्ट बैङ्क एनसीसीमा मर्ज हुने निश्चित भएपछि एपेक्सका तत्कालीन सम्बद्ध अध्यक्ष, सञ्चालक र कर्मचारीहरूले योजनाबद्ध रूपमा विभिन्न शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी सो रकम अपचलन गरेको सीआईबीले बताएको छ ।

पछिल्लो समय बैङ्किङ क्षेत्रलगायतको आर्थिक अपराध गर्नेको सङ्ख्या बढेको छ । सीआईबीका डीएसपी ओलियाका अनुसार यस्तो अपराध बढ्नुको कारण नियमनकारी निकायको फितलो अनुगमन, छिटो धनी हुने अभिलाषा, व्यक्तिको महत्वाकाङ्क्षा, बढ्दो शहरीकरण र विश्वव्यापीकरण हो । यसका साथै विज्ञानप्रविधिको बढ्दो प्रयोग हुनु र अधिकांश अवस्थामा व्यक्ति अप्रत्यक्ष संलग्न हुने गरेको अध्ययनले देखाएको उनको भनाइ छ ।

के हो बैङ्किङ कसुर

बैङ्किङ कसूर तथा सजाय ऐन (पहिलो संशोधन) २०७३ ले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने, अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, कर्जाको दुरुपयोग गर्न नहुने, बैङ्किङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने, ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउनेलगायत व्यवस्था गरेको छ । सो व्यवस्थाविपरीतका कार्यलाई बैङ्किङ कसूर मानिन्छ ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्