Logo
२३ आश्विन २०८१, बुधबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमै भेटियो नक्कली प्रमाणपत्र बनाउने कारखाना, तीन जना पक्राउ

काठमाडौं : नक्कली सर्टीफकेट (प्रमाणपत्र) र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने काठमाडौंमा कारखाना नै भेटिएको छ । तारकेश्वर नगरपालिका–११ नेपालटार स्थित एक घरमा उक्त कारखानबाट नेपाल प्रहरीले दिने चालचलन रिपोर्ट सहित एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका निमित्त प्रमुख (एसपी) उमाशंकर पंजियारले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा रहेका छन् । पोल्याण्ड जानका लागि पाँच हजारमा एसएलसीको सर्टिफिकेट किनेका खुमानसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा नेपालटारमा नक्कली कागजात बनाउने कारखान नै फेला परेको एसपी पंजियारले बताएका छन् ।

खुमानसिंहले त्रिपुरेश्वर स्थित कन्सुलर विभागमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा उनले बुझाएको एसएलसीको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा थापालाई अर्जुन अधिकारीले नक्कली सर्टिफिकेट बनाउन सहयोग गरेका थिए । तिनै अर्जुनमार्फत बल बहादुर राउतले विगत चार बर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर विक्री गर्ने गरेका थिए ।

प्रहरीले राउतको कोठाबाट ठुलो संख्यामा होलोग्राम, छाप, कम्युटर लगायतका नक्कली कागजात बनाउने सामग्रिहरु बरामद गरेको छ । उनिहरुमाथी सरकारी छाप दस्तखत मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिने महाशाखाका निमित्त प्रमुख पंजियारले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्