Logo
७ कार्तिक २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले ‘प्रारम्भिक बालविकाससम्बन्धी एशिया प्रशान्त क्षेत्रीय सञ्जाल’को अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

शिक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा शिक्षासचिव खगराज बरालले अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान गर्न सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

यसअघि सन् २०१७ मा कम्बोडियामा भएको सञ्जालको सम्मेलनमा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले नेपालमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार सम्मेलन यहाँ हुन लागेको हो ।

आगामी जेठ २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने सम्मेलनमा ४० देशका ५०० र नेपालका २०० जनाको सहभागिता हुने छ । सचिव बरालका अनुसार सम्मेलनमा प्रारम्भिक बालशिक्षा तथा विकाससम्बन्धी विद्यमान नीतिबारे छलफल, प्रारम्भिक बालविकासमा सरोकारवालाबीच प्रारम्भिक बालविकाससम्बन्धी अभ्यासको समीक्षा र प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकासको क्षेत्रमा भएका प्रगति र अभ्यासलाई विभिन्न देशले प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा बालबालिकाको स्वास्थ्य तथा पोषण, उत्तरदायी हेरचार, प्रारम्भिक सिकाइ र सुरक्षाबारे समेत छलफल हुनेछ । सम्मेलनलाई सफल बनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको सचिव बरालको भनाइ थियो ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्