Logo
२९ बैशाख २०८१, शनिबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षेनी उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बर वृद्धि गरिएको घोषणा

काठमाडौं : पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेका उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ । पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिअन्तर्गत छैटौँ वर्षको छात्रवृत्ति प्रदान कार्यक्रम आज यहाँ सम्पन्न भयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान सांस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्त रुपमा छात्रवृत्ति रकम प्रदान गरे । सोअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित ४० जिल्लाका सामुदायिक एवं केही निजी विद्यालयका २५० विद्यार्थीले जनही रु १० हजार पाएका छन् ।

दोलखा, ओखलढुंगा, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, लमजुङ, सोलुखुम्बु, पाल्पा, धादिङ, पर्वत, तनहुँ, स्याङ्जा, धनकुटा, सप्तरी, सर्लाही, सुर्खेत, बर्दिया, कैलाली, डडेल्धुरा, रुकुम दार्चुलालगायत जिल्लाका छात्रछात्रलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

त्यस अवसरमा सचिव बरालले नेपालमा मानव संसाधन विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानबाट निरन्तर सहायता प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान अवधारणा प्रस्तुत गर्दै आएका बताए । (रासस)

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्