Logo
२३ आश्विन २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

काठमाडौं : सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउनु हुनेछ । उनले यसपटकको भर्ना अभियान स्थानीय तहका जनप्रतिनिधि, सामाजमा योगदान पु¥याएका विशिष्ट व्यक्ति, शिक्षाप्रेमी, वुद्धिजीवी र राजनीतिक व्यक्तिलाई पनि सामेल गराई अधिकतम विद्यार्थीलाई विद्यालयमा भर्ना गराउने जानकारी गराए ।

ती व्यक्तिलाई ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नाराका साथ विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख र पिछडिएको वर्गका न्यूनतम स्टेशनरी र पोशाकको व्यवस्थासहित भर्ना अभियान गरिदिनसमेत मन्त्री पोखरेलले आग्रह गरेका छन् ।

‘‘यस पटकको भर्ना अभियान विशेष प्रकारको छ । प्रत्येक व्यक्तिले एकजना विद्यार्थीलाई पाठ्यपुस्तकसहित भर्ना गराउनु पर्दछ’’ उनले भने–‘‘अभियान विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन केन्द्रित हुनेछ ।’’

उनले सबै मन्त्रालयका सचिव र सहसचिव सय जनालाई विद्यार्थी भर्ना अभियानमा लाग्न निर्देशन दिइसकेको जानकारी गराए । मन्त्री पोखरेलले भर्ना अभियानलाई सफल पार्न प्रदेश तहका शिक्षा हेर्ने मन्त्रीसँग पनि छलफल गरिने बताए ।कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो हप्तासम्म राष्ट्रका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गर्ने बताए ।

उनले हातहातमा पुस्तकसहित भर्ना अभियानमा छुट भएका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो गरी भर्ना अभियान गरिने बताए ।विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा पाँच÷नौ वर्ष २।८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५देखि १२ वर्ष उमेर समूहका ७।७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

यस वर्षको भर्ना अभियानको लागि सरकारले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आर्दश बाक्य तय गरिएको छ ।कार्यक्रममा कलाकार हरिवंश आचार्य, मिथिला शर्मा, बद्री पङ्गेनी, सुनिल पोखरेललगायतले भर्ना अभियान सफल पार्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्