Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

पर्सा: दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका छन् । रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले ससुराली पक्षको प्रतिरोध गरेपछि ससुराली पक्षले जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले प्रहरीलाई जानकारी दिइएकी छिन् ।

यही चैत १३ गते श्रीमान् साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतका ससुराली पक्षले कुटपिट गरी शरीरमा आगो लगाएको घटना भएपनि बिहीबार सार्वजनिक भएको हो । नौ दिनसम्म घरमा लुकाई राखिएकी रविनाले आज उम्किन सफल भई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेपछि उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ ।

रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनाइ छ । रविनाले दिएको उजुरको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरी चौकीलाई निर्देश दिएको पर्साका नायब उपरीक्षक लिम्बूले बताए ।

भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान साविरले उतै कान्छी राखेको र कान्छीबाट एउटा छोरो समेत रहेको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ । विवाह भएको तीन वर्ष बित्दा समेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्