Logo
३० बैशाख २०८१, आईतबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीलाई रिसिभ गर्न मोदी स्वंय एयरपोर्ट पुग्ने, यस्तो छ भ्रमण तालिका

नयाँ दिल्ली : भोलिदेखि राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरप्राईज गिफ्ट दिने बुझिएको छ ।

यहाँ स्थित भारतीय सूत्रहरुले दिएको जानकारी अनुसार ओलीलाई ईन्धिरा गान्धी एयरपोर्टमा रिसिभ गर्न मोदी नै जान रहेको स्रोतको दावी छ । ०६२/६३ को जनआन्दोलनलगत्तै भारत भ्रमणमा आएका तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला भारत आउँदा प्रधानमन्त्री डा. मनमोहन सिंह स्वयं नै कोइरालालाई एयरपोर्टमा रिसिभ गर्न गएका थिए ।

त्यसैगरि यो पटक ओलीको मन जित्न र उनलाई सरप्राईज दिनको लागि मोदी नै विमानस्थल जान सक्ने स्रोतको दाबी छ । यसअघि मोदी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई रिसिभ गर्न एयरपोर्ट पुगेका थिए ।

त्यस्तै ओलीको भ्रमणलाई ऐतिहाँसिक एवम् फलदायी बनाउनको लागि भारतले विशेष आर्थिक सहयोगको प्याकेज समेत घोषणा गर्ने स्रोतको दाबी छ । यो भ्रमणमा भारतले काठमाडौंसम्म रेल ल्याईपुर्याउने बारेमा पनि विशेष सम्झौता गर्ने तयारी गरेको छ ।

अरुण तेस्रो भारतले नै बनाउने करिब करिब निश्चित भैसकेको छ । भारतले नेपालमा रेलमार्ग र जलमार्ग दुवै ल्याउनेबारे ओलीको यस भ्रमणमा प्याकेजमै केही घोषणा गर्ने बुझिएको छ ।

यस्तो छ कार्य तालिका

प्रधानमन्त्री ओली शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा आउदैछन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान वार्तादेखि विभिन्न समारोमा भाग लिदैछन् ।

प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार भारतको राजकीय भ्रमणमा आउन लागेका हुन् ।

दिउँसो करिब साँढे एघार बजे प्रधानमन्त्री ओली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् ।

विमानस्थलबाट उनी सिधै होटल इम्पेरियरमा जानेछन् । होटलमा नै भारतीय उद्योगि तथा व्यापारीहरुसँग वृहत अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने छन् । कार्यक्रमपछि ओली दिवाभोजमा सहभागी हुनेछन् ।

दिवाभोजपछि भेटघाट कार्यक्रम तय गरिएको छ । भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्नेछन् ।

भाजपाका अध्यक्ष सहित शीर्ष नेताहरू, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी,भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओली भारतस्थित नेपाली दुतावासमा आयोजित विशेष कार्यक्रममा सहभागि हुनेछन् । दुतावासका प्रतिनिधीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्ध, भारतमा रहेका नेपालीहरुको अवस्था लगायतका बारेमा जानकारी लिने बताइएको छ ।

नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमासमेत सहभागी हुनेछन् । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन् । दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ ।

दुतावासको कार्यक्रमपछि ओली पुनः होटल इम्पेरियर फर्किनेछन् र विभिन्न व्यक्ति तथा समुहसँग भेटघाट गर्नेछन् । शनिवार भने प्रधानमन्त्रीले भारतीय राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीको स्वागत तथा गर्ड अफ अनर ग्रहण गर्नेछन् ।

त्यसपछि ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि दिल्लीको राजघाटस्थित अहिंसावादी नेता महात्मा गान्धीको समाधीस्थलमा पूष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।

समाधिस्थलबाट फर्किएपछि हैदरावाद हाउसमा सुरूमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वन टु वन वार्ता हुने छ । लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल कार्यक्रम तय गरिएको छ ।

छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम गरिने छ । लगत्तै संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने र ओली र मोदीले सम्बोधन गर्नेछन् ।

सम्बोधनपछि हैदरावाद हाउसमै दिवाभोज कार्यक्रम राखिएको छ ।दिवाभोजपछि साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणको अन्तिम दिन २५ चैत –ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

विश्वविद्यालयले ओलीलाई मानार्थ डाक्टरको उपाधि दिन लागेको छ । सोही दिन साँझ प्रधानमन्त्री ओली दिल्लीबाट स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्