Logo
३१ बैशाख २०८१, सोमबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत भ्रमणका बेला गरीने भयो अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका बेला समकक्षी नरेन्द्र मोदीसंगको संयुक्त भेतवार्ता पछि अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माणको कामलाई औपचारिक रुपमा अगाडि बढाउने बताएका छन् । भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन कम्पनीले निर्माण गर्न लागेको नेपालको ठूलो जलविद्युत आयोजनामा देखिएका जग्गा प्राप्ती तथा सडकको समस्या हल भइसकेकाले उक्त परियोजना निर्माणमा अब कुनै समस्या नभएको लगानी बोर्डको भनाई रहेको छ ।

भ्रमणको दोस्रो दिन चैत्र २४ गते हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीले संयुक्त रूपमा स्विच थिचेर अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उक्त औपचारीकतासँगै ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको कामले गति लिने लगानी बोर्डका अधिकारीहरूले बताएका छन् ।
तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकै बेला लगानी बोर्ड र भारतीय कम्पनी एसजेभिएन बीच परियोजना विकास सम्झौता पीडीए भएको थियो । आयोजनाको समस्याको रूपमा रहेको जग्गाको स्वामित्व, बन क्षेत्रको प्रयोग र सडक निर्माणको काम पनि समाधान भइसकेको छ।

१ खर्ब ४ अर्ब रूपियाँ लगानीमा निर्माण हुने सो आयोजनाको काम द्रुत गतीमा अगाडी बढाइने भएको छ । संखुवासभा जिल्लामा पर्ने परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान छ । सम्झौता अनुसार आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निस्शुल्क उपलब्ध गराइनेछ । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने पनि सम्झौतामा उल्लेख रहेको छ ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्