Logo
६ कार्तिक २०८१, मंगलबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० हजार जनप्रतिनिधिले आफ्नो धन, सम्पति विवरण लुकाउँदै

काठमाडौं : २० हजार जनप्रतिनिधिले आफ्नो सम्पति विवरण लुकाएका छन् । कानुनअनुसार चुनाव सम्पन्न भएको दुई महिनाभित्र जनप्रतिनिधिले सम्बन्धित निकायमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएपनि त्यसको व्यापक उल्लंघन भएको हो ।

पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पति विवरण बुझाएका छैनन् । जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएको निकायले त्यसको जानकारी राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाउनुपर्छ ।

स्थानीय तहको निर्वाचन ०७४ बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा सम्पन्न भएको हो । तीन चरणको चुनावबाट ३५ हजार ४१ जना निर्वाचन भएका छन् । चैत १८ सम्म राष्ट्रिय सतर्कता केन्द्रमा १५ हजारले मात्र सम्पत्ति विवरण बुझाएको रेकर्ड छ ।

पटकपटक ताकेता गर्दा पनि सबै जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको केन्द्रले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिहरुको नामावली उपलब्ध गराउन केन्द्रलाई ताकेता गरिरहेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेका व्यक्तिले ६० दिनभित्र आफ्नो वा आफ्ना परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण सरकारले तोकेको निकायमा पेस गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्