Logo
६ जेष्ठ २०८१, आईतबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन जना ट्राफिक प्रहरीबाट एक ट्रक चालक मरणासन्न हुने गरी कुटिए

रौतहट : रौतहटमा आईतबार तीन जना ट्राफिक प्रहरीले एक जना ट्रक चालकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । राजमार्ग किनारमा ट्रक रोकेको भन्दै ट्राफिक प्रहरी हवल्दार नन्दु दास, ट्राफिक प्रहरी सरोज खरेल र राजेन्द्र चौधरीले ना ४ ख ४६३० नम्बरको ट्रकका चालक गोपाल भनिने गीर्बाण महतलाई निर्घात कुटपिट गरेका हुन् ।

ट्राफिक प्रहरीको कुटाईबाट निर्घात घाईते भएका महतको उपचार चन्द्रपुर अस्पतालमा भैरहेको छ । कुटपिट गर्ने तीनैजना जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहेका छन् । कुटपिटको विरोधमा सवारी साधनका मजदुरहरुले पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा चक्काजाम गरेका छन् ।

चक्कजाम खुलाउन प्रहरीले बल प्रयोग गरेपनि राजमार्गको चक्काजाम खुल्न सकेको छैन । घाईते महत भन्छन् ट्रक बिग्रिएपछि चन्द्रनिगाहपुरको बरनवाल आयल स्टोर्स नजिक रोकेर मर्मत गराउँदै थिए । त्यतिनै बेला आएका ट्राफिक प्रहरीले एक्कासी कुटपिट गर्न थाले ।

ट्राफिक प्रहरीले एकोहोरो कुटपिट गर्न थालेपछि भागेर नजिकैको ड्रागन होटलमा लुक्न गएपनि त्यहाँबाट निकालेर कुटपिट गरेका हुन । ‘मलाई कुटेको देखेर एकत्रित भएका स्थानीयले छुट्याएपछि अहिले एकैपल्ट अस्पतालमको बेडमा आफुलाई पाएको छु,’ महतले भने, ‘कानुनी राज्य, विधिको शासन र मानवअधिकारको सुनिश्चिता भएको हाम्रो देशमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको म जस्ता श्रमजीविले बिना कारण कुटाई खानु पर्दा दुःख लागेको छ ।’

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्