Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सेवा

काठमाडौँ : आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् । आइतबार आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वर्ल्ड लिंक कम्युनिकेसन प्रालिका निर्देशक विजयकुमार जालानले सम्झौतापत्रमा हस्ताक्षर गरी नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएका हुन् ।

इन्टरनेट राख्ने स्थानमा पशुपतिनाथ क्षेत्र, बालाजु पार्क, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्र रहेका छन् । करारपत्रमा भनिएको छ, हस्ताक्षर भएको मितिले ६० दिनभित्र उक्त सुविधा सञ्चालन भइसक्र्नेछ । यसको अवधि पाँच वर्षको हुनेछ । प्रयोगकर्ताको आवश्यकता हेरी इन्टरनेटको क्षमता वृद्धि गर्नुपर्ने पनि हस्ताक्षरपत्रमा भनिएको छ । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा राखे पनि अबको केही समयमा कामपाका अन्य स्थानमा पनि इन्टरनेट राख्ने तयारी रहेको जानकारी बताए ।

त्यसैगरी, कामपाका प्रशासकीय अधिकृत धनिराम शर्माले करार बमोजिम तोकिएकै समयमा वर्ल्ड लिंकले काम गर्ने कामपाले विश्वास लिएको बताए । वर्ल्ड लिंक निर्देशक विजयकुमार जालानले शर्तअनुसार तोकिएकै समयमा काम गर्ने विश्वास दिँदै गुणस्तरीय सेवा दिन आफू सधैँ प्रतिबद्ध रहेको बताए । लामो समयदेखि राख्ने तयारी रहेपनि आन्तरिक छलफल भइरहेकाले उक्त काम हुन सकेको थिएन । यसअघि कामपाले नागरिकलाई रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्