Logo
१३ बैशाख २०८१, बिहीबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता खड्काको शवयात्रा : कांग्रेसको झन्डा ओढाएर सम्मान

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिवंगत खुमबहादुर खड्काको शवयात्रा निकालिएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीपछि खड्काको अन्तिम संस्कारका लागि अपराह्न शवयात्रा निकालिएको हो । नेता खड्काको शव यात्रा अहिले पशुपति आर्यघाटतर्फ अघि बढिरहेको छ ।

शव यात्रामा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता, दिवंगत खड्काका आफन्तजन लगायतको बाक्लो उपस्थिति रहेको छ । शव यात्रा सुरु हुनुअघि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

देउवाले खड्काको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर सम्मान व्यक्त गरे । नेता खड्काप्रति श्रद्धाञ्जली दिन एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, नेता जनार्दन शर्मा र राप्रपा अध्यक्ष कमल थापा पनि सानेपा पुगेका थिए । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । उनको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित निवासमा राखिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसका सयौं नेता कार्यकर्ताको भीड लागेको थियो । कांग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्