Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्थानका ४५० बढी ‘अवैध’ कर्मचारी हटाउन आपूर्तिमन्त्रीको निर्देशन

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई सय ३३ जना कर्मचारी हटाउन निर्देशन दिइएको छ भने आयल निगममा दुई सय १५ कर्मचारी हटाउन निर्देशन दिइएको छ ।

निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशिल भट्टराईले मन्त्रालयको निर्देशनपछि भर्ना गरिएका कर्मचारी हटाउने प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार खासगरी संस्थानका विभिन्न इन्धन डिपोहरूमा र सामान्य कामदारका रुपमा आवश्यकता हेरेर लामो समयदेखि कर्मचारी भर्ना गरिएका छन् । खाद्य संस्थानमा तोकादेशका आधारमा जथाभावी कर्मचारी भर्ना गरेको भन्दै पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान अघि बढाएको छ ।

आवश्यक क्षमता, योग्यता र अनुभव भन्दा पनि शक्तिको आडमा उच्च पदस्थ अधिकारीको तोकादेशका भरमा मनमौजी ढंगले विभिन्न संस्थानहरूमा कर्मचारी भर्ति गरिँदै आएको छ । खाद्य संस्थानका महाप्रबन्धक कुमार दाहालले मन्त्रालयको निर्देशनपछि संस्थानका विभिन्न डिपोहरूमा अस्थायी ढंगले भर्ना गरिएका ज्यालादारी कर्मचारी हटाइएको जानकारी दिए ।

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्