Logo
६ चैत्र २०८१, बिहीबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : बाटोको छेउमा दिसा गर्ने १७ जनाले एक अर्काको कान समाते

जनकपुर : जनकपुरमा खुल्ला ठाउँ र बाटोको छेउमा दिसा गरिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुल्ला ठाउँमा दिसा गरिरहेकै अवस्थामा धनुषाको सिनुरजोडाका १२ जना र जनकपुर मुजेलियाका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा शौचालय बनाउन र जथाभावी दिसापिसाब नगर्न पटक पटक गरिएको आग्रहलाई अटेर गरी खुल्ला ठाउँमा दिसा गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरेको मुजेलिया प्रहरी कार्यालयका ईन्चार्ज टीका बरालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई एक अर्काको कान समात्न लगाई सजाय दिएको र सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ । खुल्ला रुपमा दिसा गर्नेमा केही महिला समेत रहेको उनीहरुलाई महिला प्रहरी नभएकाले पक्राउ नगरिएको इन्चार्ज बरालले बताउनुभयो ।

प्रहरीले हरेक बिहान नियमित अनुगमन गर्ने र खुल्ला दिसा गर्नेलाई पक्राउ गरी सार्वजनिक गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । सरकारले सन् २०१७ भित्र खुल्ला दिसामुक्त देश घोषणा गर्न घरघरमा शौचालय बनाइरहेको छ ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्