Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीको दुवै सदनमा पहिलो सम्बोधन : कुनै पनि बहानामा हिंसातर्फ होमिनु हुँदैन

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसातर्फ होमिनु नहुने बताएकी छन् ।पहिलोपटक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपतिले विकास र समृद्धिको यात्रामा अघि बढ्न अपिल गरिन् । वर्तमान सरकारबाट सुशासन र विकास हुने आम जनताको अपेक्षा रहेको राष्ट्रपतिको भनाइ छ । ‘वर्तमान सरकारको स्पष्ट दूरदृष्टि र संकल्पले सबै जनतामा उत्साहको सञ्चार गरेको छ,’ उनले भनिन् ।

नेपालको संसद विविधताबीचको एकताको उदाहरण रहेको बताउँदै राष्ट्रपतिले हिजोसम्म पछाडि परेका समूदायको उपस्थिति उल्लेखनीय रहेको धारणा राखिन् । ‘संसदमा सत्तापक्ष र विपक्ष भए पनि जनप्रतिनिधिहरुले जनताको आशा र भरोसमा विश्वास गर्नुपर्दछ,’ उनले भनिन् ।

‘नेपाल अब कुनै पनि बहानामा हिंसातर्फ होमिनु हुँदैन । देशको जीर्ण आर्थिक सामाजिक परिवेशले हामीलाई अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्न निर्देशित गरेको छ,’ उनले भनिन्, ‘सबै तहको जनप्रतिनिधिहरु आ–आफ्नो कर्तव्यमा समर्पित हुन आवश्यक छ । निष्ठापूर्वक कर्तव्य पालना हुनेछ भन्ने विश्वास लिएको छु ।’

तीनै तहको चुनाव सम्पन्न भएर देश स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै राष्ट्रपतिले राजनीतिकमात्र होइन अब आर्थिक समृद्धि र विकासमा पनि ठूला उपलब्धी हासिल गर्न सहजता भएको बताइन् । ‘तीनै चरणको चुनाव सम्पन्न भएर लामो संक्रमणकाल पूरामात्रै भएको छैन,’ उनको भनाइ थियो, ‘संविधान कार्यान्वयन गर्ने तीब्र गतितिर अघि बढेका छौं ।’

राजनीतिक मतभेदहरुका बीच पनि संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचनबाट जनप्रतिनिधिहरु छानिएको उल्लेख गर्दै राष्ट्रपतिले संसदमा आम नेपाली जनताको विश्वास प्रतिबिम्बित भएको बताइन् । ‘उत्साहपूर्णरुपमा सहभागी भएर जनताले संविधानमार्फत लोकतन्त्रको उच्चतम अभ्यासबाट अभिमत व्यक्त गरेका छन्,’ उनले भनेकी छन्, ‘राष्ट्र जननिर्वाचित प्रतिनिधिहरुको निकायबाट शान्ति र विकासतिर अगाडि बढेको छ ।’

 

विगतमा शासकीय र व्यवस्थापकीय कमजोरीले नेपाल कम विकसित राष्ट्र भएको जनाउँदै अब तीब्र आर्थिक विकासको गतिमा अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले युवा र बालबालिकाका क्षेत्रमा सरकारले सचेतापूर्वक काम गर्नुपर्ने बताइन् । ‘ठूलो संख्यामा युवाहरु विदेशमा छन्, अब देश निर्माणका लागि युवाहरुको आकांक्षालाई सरकारले सम्बोधन गर्नुपर्छ,’ उनले थपिन्, ‘युवाहरुलाई कसरी सक्षम बनाउने भनेर सोच्नुपर्छ । बालबालिकाको पोषण र शिक्षामा ध्यान दिनुपर्छ ।’

नेपालको संक्रमणलको अन्त्य सामान्य राजनीतिक परिवर्तनमात्रै नभएर युगान्तकारी र नेपालको इतिहासमै असाधारण भएको बताउँदै संक्रमणकालको अन्त्यसँगै सम्भावनाको ढोका खुलेको राष्ट्रपतिको भनाइ छ । राष्ट्रपतिले नेपालको विकास र समृद्धिका लागि छिमेकी राष्ट्रहरुसँगको सहकार्यमा पनि जोड दिइन् । ‘छिमेकी मित्रराष्ट्रहरुसँग मित्रताको हात फैलाउँदै हाम्रो विकासका आकांक्षा पूरा गर्न समन्वय गर्नुपर्छ,’ उनले भनिन्, ‘विश्व शान्तिका लागि नेपालले सक्दो योगदान गर्नुपर्छ ।’

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई पहिलोपटक सम्बोधन गरेकी हुन् । संसद् बैठक कक्षमा पुगेकी राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । राष्ट्रपतिलाई बग्गीमा राखेर संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगिएको थियो । राष्ट्रपतिले संसदमा सम्बोधन गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्