Logo
६ कार्तिक २०८१, मंगलबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयरबजारबाट लगानीकर्ताले गुमाए ६० अर्ब, साढे २ वर्षअघिको विन्दुमा नेप्से

काठमाडौं : सोमवार नेप्से परिसूचक ४ दशमलव २५ प्रतिशत घटेर करीब ३१ महीना पहिलाको विन्दुमा पुगेको छ । २०७२ भदौ १७ गते नेप्से परिसूचक १ हजार १ सय ६९ दशमलव ४ विन्दुमा थियो र सोमवार पनि सोही तहको हाराहारीमा पुगेर रोकिएको छ । शेयरबजार यसरी लगातार घट्नुका कारणबारे सरोकारवालाहरूको फरक फरक धारणा आएको छ ।

कतिपयले बजार अझै घट्ने भन्दै शेयर बेच्न उचित हुने बताएका छन् भने केहीको बुझाइमा अब बजार फर्कने सम्भावना बढेकाले राम्रा कम्पनीको शेयर खरीद गर्ने समय आएको छ । भविष्यमा बजार कता जाला भन्ने विवाद भए जस्तै अहिले किन घटेको हो भन्ने विषयमा पनि मतैक्य छैन । लगातार ओरालो लागेको शेयरबजारप्रति सरकारको तर्फबाट सकारात्मक सम्बोधन र सुधारको प्रयास नभएकाले सोमवार परिसूचक उच्चदरले घटेको लगानीकर्ताहरूको भनाइ छ । नेपाल इभेष्टर्स फोरमले सोमवार पत्रकार सम्मेलन नै आयोजना गरेर सरकारले बेलैमा सम्बोधन नगरे आन्दोलनमा उत्रने घोषणा गरेको छ ।

केन्द्रीय बैङ्कको गलत नीतिका कारण शेयर आपूर्ति चुलिएको र बैङ्किङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुँदा ब्याजदर आकाशिएको अवस्थामा अर्थमन्त्रीबाट नकारात्मक टिप्पणी हुनु नै शेयरबजार लगातार घट्नुको प्रमुख कारण भएको फोरमको आरोप छ । ‘लगानीकर्ता वित्तीय रूपमा घाटा र मनोवैज्ञानिक रूपमा दबाब बेहोरिरहेको अवस्थामा अर्थमन्त्रीबाट नकारात्मक अभिव्यक्ति आउनुले बजार बौरनै नसक्ने अवस्थामा पुग्दै छ,’ फोरमका अध्यक्ष अम्बिका पौडेलले भने । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीजस्तो व्यक्ति जहाँ पायो त्यही, जे पायो त्यही बोल्दै हिँड्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।

अभियानमा लेखिएको छ, बढ्दो ब्याजदर र अत्यधिक आपूर्तिले थलिएको बजारले सरकार तथा नीतिनिर्माताबाट सकारात्मक टिप्पणी र मनोवैज्ञानिक आश्वासन खोजेको लगानीकर्ताहरूको भनाइ छ ।

अर्थमन्त्री भने शेयरबजार पनि अन्य बजार जस्तै माग र आपूर्तिमा आधारमा चल्ने भएकाले सरकारले हस्तक्षेप गर्नु उचित नहुने बताउँदै आएका छन् । ‘बजार वस्तुको मूल्य घटबढ भएजस्तै शेयर मूल्य बढ्नु वा घट्नु पनि स्वभाविक प्रक्रिया हो,’ खतिवडाको भनाइ छ, ‘जसरी चिनीको मागभन्दा आपूर्ति बढी भए मूल्य घट्छ, शेयरबजारमा पनि त्यस्तै भएको हो ।’ त्यसैगरी, पहिलापहिला शेयरबजार उच्च अङ्कले घट्दा लगानीकर्तालाई नआत्तिन भन्दै सूचना निकाल्दै आएको नेपाल धितोपत्र बोर्ड पनि यसपालि मौन छ । बोर्डले पनि बजार स्वाभाविक रूपमा आफ्नै गतिमा तलमाथि गर्ने भएकाले नियामकले बोल्न उचित नहुने बताउँदै अएको छ ।

परिसूचक र कुल बजार पूँजीकरणमा कमी आए पनि लगानीकर्ताको आकर्षण देखाउने कारोबार रकममा भने सुधार भएको छ । पछिल्लो कारोबार दिनको तुलनामा सोमवार कारोबार रकम भने रू. ३ करोड १७ लाख बढेर रू. ४७ करोड ३३ लाख पुगेको छ । यसले आगामी दिनमा बजार घट्न रोकिने वा बढ्ने सङ्केत गरेको बुझ्ने लगानीकर्ता पनि छन् । यद्यपि, कुल बजार पूँजीकरण भने रू. ६० अर्ब घटेर १३ खर्ब ६८ अर्बमा सीमित भएको छ । परिसूचक पनि ४० मिनेट नपुग्दै ३ प्रतिशतले घटेर सर्किट ब्रेक लागे पनि पुनः खुलेको बजारसमेत थामिएन र अन्त्यमा ५१ दशमलव ८९ अङ्कले घटेर १ हजार १ सय ६८ दशमलव ५५ विन्दुमा बन्द भयो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ४ दशमलव १३ प्रतिशतले घटेर २ सय ४९ दशमलव ६५ अङ्क पुगेको छ ।

सोमवार प्रोग्रेसिभ फाइनान्स, राधी विद्युत् कम्पनी र स्वदेशी लघुवित्तको मात्र शेयर मूल्य बढेको थियो । यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रू. ५ करोड ४८ लाखबराबरको शेयर कारोबार भएको छ । यस बीमा कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार ५ सय ४३ पुगेको छ । एनएलजी इन्स्योरेन्सको शेयर मूल्य भने १० प्रतिशत घटेको हो । यस दिन सबै समूहको परिसूचक घटेको छ ।

बीमा समूहको परिसूचक ६ दशमलव ७५ प्रतिशत, लघुवित्तको ५ दशमलव ५६ प्रतिशत, जलविद्युत्को ४ दशमलव ८२ प्रतिशत र होटलको ४ दशमलव ६४ प्रतिशत घटेको छ । साथै, बैङ्किङ समूहको परिसूचक ३ दशमलव ८४ प्रतिशत, विकास बैङ्कको ३ दशमलव ५४ प्रतिशत, ‘अन्य’ समूहको परिसूचक ३ दशमलव १७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशलमव ७९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ७३ प्रतिशत घटेको हो ।

त्यस्तै, १ सय ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५७ कम्पनीको ७ हजार ४ सय ८८ पटकको व्यापारमा १५ लाख ५८ हजार ८ सय ४ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरसोल्ड जोन अथवा १५ दशमलव ९५ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चाप उच्च रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेसियो शून्य दशमलव शून्य १ अङ्क रहेको छ । यसले बजार अत्यधिक घटेको देखाउँछ ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्