Logo
२७ आश्विन २०८१, आईतबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘शत्रुगते’ को व्यापार आक्रामक, ३ दिनमा ३ करोड ग्रस कलेक्सन

काठमाडौं : ‘शत्रुगते’ले आक्रामक व्यापार गरिरहेको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्म देशभरका एक सय ६० भन्दा बढी हलमा लागेको थियो ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको  फिल्मले ३ दिनमा ३ करोड २७ लाखको ग्रस कलेक्सन गरेको निर्माता किरण केसीले बताए । प्रदर्शनको पहिलो दिन ७२ लाख, दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाखको व्यापार गरेको केसीले जानकारी दिए ।

फिल्मको ३ दिनको कमाइबारे निर्देशक भट्टराईले भने, ‘हामी भाग्यमानी रहेछौं, किनकि दर्शकले हाम्रो फिल्मलाई अत्यधिक रुचाइदिनुभयो। छोटै समयमा फिल्मले राम्रो व्यापार गर्न सफल भयो’ ।

उनले शत्रुगतेको सफलता सिंगो नेपाली फिल्म उद्योगकै सफलता भएको भन्दै निकै खुसी लागिरहेको प्रतिक्रिया दिए ।

दर्शकको अपेक्षा र स्वाद अनुरुपकै फिल्म बनेकाले छोटो समयमै सफलता पाएको बताउँछन् वितरक गोपालकाजी कायस्थ ।

चौथो दिन पनि हलहरुमा दर्शकको चाप उत्तिकै रहेको भन्दै कायस्थले सोमबार फिल्मले ५०–५५ लाखको हाराहारीमा कलेक्सन गर्ने अनुमानित आँकडा सुनाए ।

करिब ३ करोड रुपैयाँको लगानीमा बनेको फिल्म नाफा उन्मुख भएको छ। फिल्मले खासगरी राजधानी र बाहिरका मल्टिप्लेक्स हलहरुमा दर्शकको भीड पाएको छ ।

मल्टिस्टारर फिल्म ‘शत्रुगते’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्