Logo
१६ बैशाख २०८१, आईतबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ हजार अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षाको तयारी अन्तिम चरणमा

काठमाडौँ : लगभग २२ हजार भन्दा बढी अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि हुन लागिउको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । दुई पटकसम्म स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षक सेवा आयोगले जनाएको छ । २२ हजार ७६ पदका लागि देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने २३ हजार २ सय ८६ शिक्षकले आवेदन दिएका छन् । पूर्णांकको ४० प्रतिशत नम्बर ल्याउने परीक्षार्थी उत्तीर्ण भई स्थायी हुने खुकुलो प्रावधान ल्याइएको छ ।

आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक छनोट सक्दा अझै आयोगसँग २ हजार ८ सय पद खाली हुनेछ । चैत २३ को परीक्षा सकिएलगत्तै दुवै खाली पद जोडेर करिब ५ हजार खुला प्रतिस्पर्धाका लागि विज्ञापन गरिने जानकारी थपलियाले दिए । हाल मुलुकभर एक लाख ७ हजार शिक्षकको दरबन्दी छ । उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि दुई हजार शिक्षकको दरबन्दी पनि थप हुने प्रक्रियामा छ ।

शिक्षा ऐनको नवौं संशोधनपछि सरकारले अस्थायी शिक्षकहरूलाई अस्थायी शिक्षकको कुल दरबन्दीको ७५ प्रतिशत सिटमा सीमित आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामार्फत स्थायी गरेर अनुत्तीर्ण हुनेलाई गोल्डेन हयान्डसेकबाट बिदाइ गर्न लागिएको हो । आयोगका प्रशासकीय अधिकृत तुलसीप्रसाद थपलियाका अनुसार  गत वर्षात्‌मा तराईको बाढी र भदौमा शिक्षकहरूको असन्तुष्टिका कारण देखाएर रद्द गरिएको परीक्षा आयोगले आगामी चैत २३ मा लिने भएको छ ।

२२ हजार ७६ दरबन्दीमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न लागिएको हो । केही अस्थायी शिक्षकहरूले आयोगले सञ्चालन गर्ने परीक्षाप्रति असन्तुष्टि जनाए पनि परीक्षा नरोकिने उनको भनाइ छ ।  केहीमा धेरै पदमा माग भएको भन्दा पनि थोरै शिक्षकले निवेदन दिएका छन् । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रस्तावमा अघिल्लो संसदले ऐनको नवौं संशोधन गरेर अस्थायी शिक्षकले माग नै नगरेको प्रावधानसहित परीक्षा सजिलो बनाइदिएको छ । राजनीतिक संरक्षणमा शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरेर परीक्षा प्रणाली सजिलो बनाएको आरोप श्रेष्ठमाथि लाग्दै आएको छ ।

विज्ञ र विद्यार्थीहरूले शिक्षकहरूलाई खुला प्रतिस्पर्धाबाट मात्र स्थायी गरिनुपर्ने माग गरेका छन् । यद्यपि केही अस्थायी शिक्षक भने खुकुलो प्रावधानमा पनि परीक्षा नदिने बल मिच्याइँ गरिरहेका छन् । आठौं संशोधनविपरीत ल्याइएको ऐनअनुसार परीक्षा लिन खोज्नु नै गलत भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । कोइरालाले राजनीतिक दलको संरक्षणमा मन्त्री र सांसदहरूबाट शैक्षिक क्षेत्रमा खेलबाड भएको आरोप लगाए । अस्थायी शिक्षकहरूको एउटा समूहले भने अझै स्वत: स्थायी हुनुपर्ने माग राखेर परीक्षा नलिन आयोगमा ज्ञापनपत्र बुझाएर दबाब दिनुका साथै धर्ना र अनशन सुरु गरेको छ ।

राजधानीको भद्रकालीमा ५ दिनदेखि अस्थायी शिक्षक धर्मेन्द्र ठाकुर र नरबहादुर बस्नेतले आमरण अनशन थालेका छन् । सबै अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट एक पटकका लागि स्थायी गर्नुपर्ने उनीहरूको माग छ । २०७२ पछि नियुक्त भएका अस्थायी शिक्षकलाई समेत प्रतिस्पर्धा गर्न दिनुपर्ने उनीहरूको माग छ । आठौं संशोधनमा ४९ प्रतिशत शिक्षकलाई मात्रै खुकुलो प्रावधानबाट स्थायी गर्ने उल्लेख थियो । २०४९ पुस २० अघि, त्यसपछि २०६१ साउन २१ सम्म र २०६१ देखि २०७२ असोज २ सम्म अस्थायी रूपमा काम गरेका शिक्षकहरूलाई तीन समूह बनाएर छुट्टाछुट्टै मापदण्डमा परीक्षा लिन लागिएको छ । २०७२ पछिका अस्थायी सेवा गरिरहेका शिक्षकले समेत परीक्षा दिनुपर्ने माग आन्दोलनकारी शिक्षकहरूको छ ।

प्राथमिक तहमा १६ हजार एक सय ९७, निम्नमाध्यमिक तहमा ३ हजार ७ सय ८३ र माध्यमिक तहमा ३ हजार ३ सय ६ शिक्षकले परीक्षाका लागि आवेदन दिएका छन् । फरक/फरक तीन विज्ञापनमा उक्त संख्यामा आवेदन परेको आयोगका प्रवक्ता दामोदार आचार्यले बताए । अस्थायी शिक्षकको परीक्षाका लागि काठमाडौं, झापा, पोखरा, बाँके र कञ्चनपुरमा एक सय १६ परीक्षा केन्द्र तोकिएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला परीक्षा समन्वय समितिहरूलाई शिक्षक सेवा आयोगको परीक्षा लिने जिम्मेवारी दिइएको छ । केन्द्राध्यक्ष र निरीक्षक छनोट गरेर प्रवेशपत्र परीक्षा केन्द्रबाटै वितरण गरिने आयोगको भनाइ छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्