Logo
१९ आश्विन २०८१, शनिबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दुक सम्बन्धी कानूनमा कडाइ गर्न माग : नियन्त्रणका लागि देशभर र्‍याली

संयुक्त राज्य अमेरिकाका शहरहरूमा बन्दुक राख्न पाउने कानूनमा कडाइको माग गर्दै आयोजना गरिएका र्‍यालीमा हजारौँ मानिसले भाग लिएका छन्। “हाम्रो जीवनका लागि र्‍यालीमा’ नाम दिइएको उक्त प्रदर्शनको नेतृत्व १७ जनाको ज्यान जाने गरी अघिल्लो महिना फ्लोरिडास्थित एउटा विद्यालयमा भएको गोलीकाण्डमा बाँचेकाहरूले गरेका थिए।

वाशिङटनमा हालसम्मकै सबैभन्दा ठूलो बन्दुक राख्न पाउने अधिकार विरोधी र्‍याली आयोजना भएको थियो। र्‍याली शुरू हुनुभन्दा कैयौँ घण्टाअघि नै मानिसहरू वाशिङटनमा जम्मा भएका थिए। विद्यार्थीहरूले ह्वाइट हाउस र अमेरिकी संसद्लाई ध्यानाकर्षण गराउने प्रयास गरेको भएपनि राष्ट्रपति ट्रम्प भने वाशिङटन बाहिर निस्किएका छन्।

उनी आफ्नो गल्फ क्लब रिजोर्ट रहेको फ्लोरिडामा छन् जहाँका विद्यार्थीले उनीमाथि बन्दुक राख्न पाउने कानूनी व्यवस्था अझ कडा बनाउन माग गरिरहेका छन्। केयौँ शहरमा माइली साइरस, आरियाना ग्राण्डे, पल मकार्टनी जस्ता चर्चित व्यक्तिहरू शिक्षक र विद्यार्थीहरूसँग र्‍यालीमा सहभागी भएका थिए। ‘सहभागीहरूले बन्दुकलाई नभइ विद्यार्थीहरूलाई संरक्षण गर’ भन्ने माग गरिएका प्लेकार्डहरू बोकेका थिए।

धेरै किशोर-किशोरीले प्रत्येक आमहत्याका घटनापछि व्यक्त हुने सहानुभूतिले आफूहरू वाक्क भएको टिप्पणी गरेका थिए। शुक्रवार ट्रम्प प्रशासनले अर्धस्वचालित राइफललाई मसिन गनले जस्तै गोली हान्न सकिने बनाउन प्रयोग गरिने बम्प स्टक नामक उपकरणको प्रयोगमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो। तर अभियानकर्ताहरूले त्यो पर्याप्त नभएको बताएका छन्। गत फेब्रअरीमा फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको गोली प्रहारको घटनामा कम्तीमा १७ जना मारिएका थिए।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्