Logo
६ जेष्ठ २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इयूको प्रतिवेदनप्रति प्रेस काउन्सिलको पनि आपत्ति

काठमाडौं : प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ।

शनिबार बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिलमात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए।

बैठकले निर्वाचन पर्यवेक्षकका रुपमा जारी गरिएको प्रतिवेदनसमेत फिर्ता लिन युरोपियन युनियनलाई आग्रहसमेत गरेको छ। काउन्सिलजस्तो संस्थाले आमसञ्चारमाध्यमको क्षेत्रमा कर्तव्य र जिम्मेवारी निर्वाह गर्न कमजोर र अप्रभावशाली देखिन्छ भन्ने कुरा प्रतिवेदनमा युरोपियन युनियनले उल्लेख गरेको छ।

बैठकले काउन्सिलबाहेक सञ्चारमाध्यमको निर्वाचनको समयमा आचारसंहिता अनुगमन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै युरोपियन युनियनले नेपाली सञ्चारमाध्यमको अनुगमन गरी प्रतिवेदनसमेत सार्वजनिक गर्नु गैरकानुनी र अधिकार क्षेत्रको हस्तक्षेपका साथै नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथिको हस्तक्षेप गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए।

युरोपियन युनियनलाई नेपाल र नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै बैठकले जातीय तथा साम्प्रदायिकता भड्काउने र काउन्सिलका पदाधिकारीलाई राजनीतिक दलसँग जोड्ने युरोपियन युनियनको कार्यप्रति काउन्सिलले आपति जनाएको छ।रासस

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्