Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारबाट गर्भवती भएपछि महिलाको हत्या प्रयास

काठमाडौँ । बलात्कारबाट गर्भवती भएकी एक महिलालाई दुई युवकले झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागमा उपचार भइरहेको छ। वेहोस अवस्थामा प्रतिष्ठानको प्रसुति विभागमा फागुन २८ गते पुर्‍याइएकी ति महिलाको गर्भबाट चिकित्सकले करिव नौ महिनाको मृत बच्चा निकालेका थिए। बच्चा जम्मा एक किलो चार सय ग्रामको रहेको बताइएको छ।

उनी फागुन २५ गते प्रकाशपुरबाट हराएकी खबर प्रदीप मेन्याङ्बोले आजको कान्तिपुर दैनिकमा धरानबाट लेखेका छन्। उनी हराएको दुई दिनपछि मोरङको भाउन्नेस्थित जंगलमा घाँस दाउराका लागि जंगलमा आएका स्थानीय महिलाले वेहोस अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेर उद्धार गरिएको थियो।

प्रहरीले बलात्कारमा संलग्न दुई युवकको नाम सार्वजनिक गरेको छैन। उनीहरुको खोजतलास भइरहेकाले नाम सार्वजनिक नगरेको जनाइएको छ। सलको पासो बनाएर जंगलमा घिसार्दै फलामको रडले घाँटी र हातमा प्रहार गरेपछि रुखमा झु्ण्याउने बेलामा घाँसदाउराका लागि जंगल पुगेका महिलाले देखेपछि हत्या गर्न खोज्ने दुवै जना भागेका थिए।

मोरङको बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कट्वालका अनुसार जंगल गएका स्थानीय महिलाले वेहोस अवस्थामा गर्भवती महिला देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। तत्कालै प्रहरी पुगेर एम्बुलेन्समा राखेर धरान ल्याइएको थियो। सलले बाँधेर घिसार्दा घाँटीमा चोट लागेको छ। रडले घुच्चुकमा प्रहार गरेकाले टाउको सिधा हुँदैन। मुस्किलले बोल्न सक्छिन् ।

चिकित्सकहरुले पीडित महिलाको प्रसुति समस्या ठीक भएपनि घाँटी र हातको उपचार जारी रहेकाले थप केही दिन अस्पतालमै राखिने जनाएको छ। पीडित महिलाले करिव आठ महिना अघि बलात्कार गरेपछि पनि पटकपटक बलात्कार गरिएको बताएकी छिन्। उनको १४ र ४ बर्षकी छोरी र ९ बर्षका छोरा छन्। उनको पति छ बर्षदेखि सम्पर्कमा छैनन्। पीडित तीन सन्तानसहित बाबुआमासंगै माइतमा बस्दै आएकी छन्।

‘म अर्काको होटलमा भाँडा वर्तन माझेर परिवारको पालन पोषण गर्दै आएकी थिएँ । उनीहरुले मलाई जवजस्ती बलात्कार गरे। उनीहरुले त्यसपछि फेरिफेरि पनि बलात्कार गरे। बलात्कार गरेको विषयमा अरुलाई भनेमा हत्या गरिदिने धम्की दिएपछि मैले डर त्रासको कारण कसैलाई भन्न सकिन’ पीडित महिलाले भनिन्।

मोरङको बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कट्वालले ज्यान मार्ने उद्योग र पेटको गर्भ मारेको अभियोगमा अपराधीहरुलाई पक्राउ गरेर मुद्दा चलाइने बताए। प्रहरीको अनुरोधमा प्रतिष्ठानले उपचार निशुल्क गरिदिएपनि औषधीमा खर्च भएको १९ हजार रुपैयाँ तिर्न सकेका छैनन्।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्