Logo
६ कार्तिक २०८१, मंगलबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी मेसमा गृहमन्त्रीले प्रहरी जवानसँगै बसेर खाना खानपुगेपछि

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा (बादल)ले बुधबार प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका छन् । बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए ।

त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए तर गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरेका छन् । सो लगत्तै भान्सामा पुगी उनले, “हामी पनि यहीँ खाना खान्छौँं, खाना पुग्छ नि” भनेर प्रश्न गरे । उनको प्रश्नबाट अकमकिएका प्रहरीले शुरुमा त विश्वास मानेनन् । ‘पुग्छ हजुर’ भनेर जवाफ दिए । “त्यसो भए हामीलाई पनि खाना खानी ” भन्दै गृहमन्त्री थापा खाना खाइरहेका प्रहरी जवानसँगै बसेर खाना खाए ।

दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् । सो अवसरमा उनले जनताको जिउ, धनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न वृत्तका प्रहरीलाई निर्देशन दिए । सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभेद् रहेकोबारे आफू जानकार रहेको बताउँदै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्