Logo
१४ जेष्ठ २०८१, सोमबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिवित आए तर संसार त्याग्दै बासकमा बन्द भएर फर्के

काठमाडौं : सोमबार साँझ ढाकाको आकाशमा सानो विन्दु देखियो र, बिस्तारै त्यो ठूलो हुँदै गयो । काठमाडौँमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशी नागरिकहरुको शव बोकेर विमान करिब ४ बजे ढाका आइपुग्यो ।

२३ वटा शवको बाकस बङ्लादेशी एयरफोर्सको विमानबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी टर्मिनलमा राखिएको शवबाहनमा एक–एक गरी चढाइयो । त्यो बेला सबैतिर सन्नाटा थियो ।

शव राखिसकेपछि बिस्तारै एकपछि अर्को गर्दै शववाहन सैनिक रंगशालातर्फ बढ्यो जहाँ व्याकूल परिवारका सदस्यहरु दिउँसोदेखि पर्खाइमा थिए । रंगशालाको पश्चिमतर्फ रातो कार्पेट बिच्छाइएको थियो भने चारैतिर सेता फूलहरु सजाइएको थियो । त्यहाँ दुईवटा ब्यानरहरु झुण्डाइएका थिए, जसमा लेखिएको थियो – नेपालको विमान दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली ।

शववाहन करिब ५ बजे रंगशाला पुग्यो । कपडाले बेरिएका शवका बाकसलाई सैनिकहरुले बोकेर रातो कार्पेट बिच्छाइएको स्थानमा लगेर राखे । पूरै राष्ट्रले विमान दुर्घटनामा ज्यान गुमाएका २६ बङ्गलादेशी नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्यो । मृत्तकका परिवार शव राखिएको स्थानभन्दा करिब ५० यार्ड टाढा ग्यालरीमा थिए । केही भावविहल भएर रोइरहेका थिए भने केही आफ्नो आँशु रोक्न संघर्षरत थिए । केही हातमा माला लिएर जप गरिरहेका थिए भने केही स्तब्ध थिए ।स्पीकरमा कुरान वाचन भइरहेको थियो ।

माहौल निकै भावुक थियो । एक हप्ताअघि युएस बङ्गलाको विमान चढ्न अघि उनीहरुले परिवारका सदस्यहरुलाई चाँडै फर्कने बाचा गरेका थिए । ‘छोरा….. तिमीले मलाई के भनेको थियौ ? तिमीले मलाई चार पाँच दिनमा फर्कन्छु भनेको थियौ । तर, अहिले कहाँ छौ ? हे अल्लाह, तिमीले मलाई यो के गर्यौ ?,’ सेलिना पर्विन झोर्ना, २८ वर्षीय इन्जिनियर रोकिबुल हसनकी आमा कराउँदै थिइन् । रोकिबुल आफ्नो पत्नी इमराना कबिर हासीसँग नेपाल गएका थिए ।

‘ऊ मेरो लागि सबै थियो, मेरो छोरा, मेरो जिन्दगी । मसँग अरु केही थिएन । र, अहिले त्यो पनि मबाट खोसियो,’ ९ वर्षअघि आफ्नो पति गुमाएका सेलिनाले भनिन् ।

उनी रोकिबुलसँग मिरपुरमा बस्दै आएकी थिइन् । बुहारी हासीको सिंगापुरमा उपचार भइरहेको छ । उनको अवस्था पनि नाजुक रहेको छ ।

प्रिथुला रसिद, विमानकी फस्र्ट अफिर, ले आफ्नी आमा राजेफा बेगमलाई नेपालबाट घर फर्केपछि सँगै खाना खाने बाचा गरेकी थिइन् । ‘मैले बिहान ढोका खोलेर उनलाई जाँदै गरेको देखेको थिएँ । अन्तिम पटक काठमाडौँका लागि विमान उड्न अघि फोनमा कुरा भएको थियो । त्यतिबेला उनले आफू व्यस्त भएको र काठमाडौँबाट ढाका फर्केपछि सँगै खाना खाने बताएकी थिइन्,’ राजेफाले भनिन्, ‘तर त्यो पूरा भएन ।’

रंगशालामा आफ्नो एक्ली छोरीको शव पर्खेर बसेकी राजेफा एउटा सानो किताब हातमा लिएर प्राथना गर्ने प्रयासमा थिइन्, तर आँशुले भरिएका उनका आँखाले उनलाई रोकिरहेको थियो । पति अनिसुर रसिद उनलाई सम्झाउने प्रयास गर्दै थिए । ‘मेरी छोरी पाइलट बन्न उत्साहित थिइन् । म पनि उनी पाइलट बनोस् भन्न चाहन्थे । उनी विनम्र र शान्त थिइन् । उनी उत्कृष्ट सन्तान थिइन्,’ राजेफाले भनिन् ।

उता, दिदीबिहानी नाजनिन अख्तर काकोन र नर्गिस अख्तर कानोकको रुवाबासीले पूरै रंगशालालाई आँशु रोक्न हम्मे हम्मे परको थियो । कसैले उनीहरुलाई सम्झाउन सकिरहेका थिएनन् । उनीहरुले आफ्नो पिता नजरुल इस्लाम र आमा अख्तरा बेगमलाई गुमाएका थिए । नजरुल स्वतन्त्रता सेनानीको साथै बंगलादेश विकास बैंक लिमिटेडका रिटायर्ट सिनियर अधिकारी थिए भने आमा अख्तरा राजशाही गर्भमेन्ट मोहिला कलेजका रिटायर्ड फिजिकल ट्रेनर थिइन् ।

‘अवकास लिएपछि वहाँहरु लामो समयदेखिको नेपाल घुम्ने इच्छा पूरा गर्न चाहनुहुन्थ्यो । उनीहरुको त्यो पहिलो फ्लाइट थियो, र अन्तिम पनि,’ नर्गिसले भनिन् । तर, दिदीबहिनीले दुई जनाको शव भने लिन पाएनन् । उनको पिताको शव अझै काठमाडौँमा पहिचान हुन बाँकी छ ।

दुर्घटनामा बाँचेका मेहदी हसन आफ्नो भाई पिएच पिरोक र ३ वर्षीया भतिजी तमारा पिरोनमोयीलाई श्रद्धाञ्जली दिन रंगशालामा उपस्थित थिए । ढाका मेडिकल कलेजमा उपचार गराइरहेका उनको हातमा प्लास्टर र घाँडीमा ब्रेस लगाइएको थियो । उनलाई अस्पतालले केही घण्टाका लागि मात्र त्यहाँ जान अनुमति दिएको थियो ।

करिब ५ः२५ बजे नामाज–ए–जनाजा शुरु भयो जसमा परिवारका पुरुष सदस्यहरु भाग लिए । महिला सदस्यहरु ग्यालरीमा बसेर शवका बाकसहरुलाई हेरिरहेका थिए । राष्ट्रपति अब्दुल हामिदको तर्फबाट सैनिक सेक्रेटरी मेजर जेनेरल एमडी सरवार र प्रधानमन्त्री शेख हसिनाको तर्फबाट मन्त्री ओबाइदुल कादरले फूल अर्पण गरे । अन्य संस्थाहरुले पनि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।

अँध्यारो पर्न थालेपछि शवहरुलाई आ–आफ्नो परिवारलाई हस्तान्तरण गरिएको थियो । जब मृत्तकको नाम लाउड स्पीकरमा बोलाइन्थ्यो, परिवारजनहरु विस्तारै शवको बाकसतर्फ बढ्थे । केही शवको बाकस पकडेर रुन थाले भने अरु तिनीहरुलाई सम्झाउने प्रयासमा थिए ।

युएस बङ्गला विमान बिएस २११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो । यस दुर्घटनामा मारिने २६ जना बंगलादेशी रहेका छन् । हालसम्म ३ जना बङ्गलादेशी नागरिकको शव पहिचान हुन सकेको छैन । दुर्घटनामा परेका २० जना बाँच्न सफल भएका छन्, जसमध्ये १० जना बङ्गलादेशी नागरिक रहेका छन् ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्