Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेट टोली स्वदेश फिर्ता : विमानस्थलमा पुगेर खेलकुदमन्त्री नै गरे स्वागत

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए । जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई पराजित गर्दै पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेको थियो ।

नेपालको विश्वकप खेल्ने सपना सकिएसँगै सातौँ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले एक दिवसीय मान्यता पाउने पक्का भएको थियो । दश देशको सहभागिता रहेको विश्वकप छनोट प्रतियोगितामा दुई खेल जितेको नेपाल आठौँ स्थानमा रह्यो । नेपाली टोलीका कप्तान पारस खड्काले सबैको मेहनतले एक दिवसीय मान्याता पाउन सफल भएको उल्लेख गर्दै अबको सपना विश्वकप रहेको बताउनुभयो ।

नेपाली क्रिकेटप्रेमीले क्यान विवाद तत्काल समाधान गर्नुपर्ने, मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने, खेलाडीलाई सुविधा दिनुपर्नेलगायत माग राख्दै विमानस्थलभित्रै केही समय नाराबाजीसमेत गरेका थिए ।

पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्दै क्रिकेट समर्थकहरु ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खडका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार संग संक्षिप्त कुरा गर्दै ।
क्रिकेट समर्थक हरुलाई अभिवादन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खडका ।

तस्वीरहरु : रासस

 

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्