Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साढे दुई दशकदेखि बन्द रहेको बलेवा विमानस्थलमा परीक्षण उडान

फलेवास : विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा सोमबार पहिलो पटक परीक्षण उडान गरियो । चैत ९ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थलमा तारा एयरको नाइन एन ए के एल कलसाइनको टुइनअटर विमानले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएका छन् ।

उक्त विमानलाई चालक सन्तोष शाह, प्रभात घिमिरे र एयर होस्टेज सिर्जना हुमागाईंले विमानस्थलमा सफल अवतरण गराएका हुन् । उनीहरुले पटक पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित सञ्चालनका लागि उपयुक्त दिशाको निरुपण तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका थिए । स्थानीयवासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि विमानस्थल नियमित सञ्चालनमा आउने भएको हो । विमानस्थलको एक महिनादेखि लगातार बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणको पहलमा मर्मत गरिनाका साथै वरपरका संरचना हटाइएको थियो ।

गौचरनमा परिणत भएको विमानस्थल सञ्चालनमा आउने भएपछि स्थानीयवासी हर्षित बनेका छन् । विमानस्थलमा धावन मार्ग मर्मत, पुरानो टावरको जाँच तथा मर्मत र विमानस्थल वरपरका अग्ला संरचना हटाइएको थियो । नियमित उडानका लागि यात्रुको अभाव भएमा बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि विभिन्न कम्पनी नियमित उडान भर्न सहमत भएका हुन् । विमानस्थल सञ्चालन गर्न धौलागिरिवासीले पटक पटक यसअघि पनि माग गर्दै आएका थिए । सो विमानस्थलमा नियमित हवाई उडान शुरु भएपछि धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने भएको छ ।

यो विमानस्थल बागलुङका नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडालगायत करीब १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण गरेको हो । यो विमानस्थल बन्द हुनुपूर्व २०४८ सालभन्दा अघि बलेवाबाट टुइनअटर विमानले काठमाडौँ, पोखरा र भैरहवा उडान भर्ने गरेको थियो । विमानस्थल अहिले गौचरनमा परिणत भएको छ ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्