Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवसंग लिखित सम्झौता वाम गठबन्धले गर्यो अस्किार

काठमाडौं : पछिल्लो एक महिनादेखि आज भोली/आज भोली भइरहेको संघीय समाजवादी फोरम नेपाल र सरकारबीच हुने भनिएको सम्झौता तत्काललाई नहुने भएको छ ।  संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित सत्तारुढ गठबन्धन इच्छुक नदेखिएपछि फोरमको सत्तारोहण लम्बिएको छ । राजपालाई रोकेर लिखित सहमति सहित एक्लै सरकारमा जान खोजेका उपेन्द्र यादवले लिखित सम्झौतामा हस्ताक्षर गर्न प्रधानमन्त्री उत्साहित नदेखिएको बिफि्रङ पार्टीमा गरेका छन् ।

यादवले संविधानको धारा २७४ लगायत केही धारा उल्लेख गरेर संविधान संशोधन आपसी सहमतिमा गर्ने भन्ने लिखित सम्झौता गर्न खोजेका छन् । तर वाम गठबन्धनका नेताहरुले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन आपसी समझदारीमा गर्ने सैद्धान्तिक सहमति गरे पनि लिखित सम्झौता आवश्यक नभएको बताएका छन् ।

प्रधानमन्त्री ओली संघीय समाजवादी फोरमलाई दुई मन्त्री सहित एक राज्यमन्त्री दिन सहमत छन् । मन्त्रिपरिषद बिस्तार गर्दा पनि फोरमलाई दुई मन्त्रालय राखिएको छ । प्रधानमन्त्रीपछिको दोस्रो बरियता पाए उपेन्द्र यादवकै नेतृत्वमा सरकार जान फोरम तयार छ । यद्यपि एमाले महासचिव ईश्वर पोखरेलभन्दा माथिको बरियता यादवले पाउने सम्भावना कम छ ।

संविधान संशोधनका सन्दर्भमा केही न केही लिखित सम्झौता नगरी सरकारमा सहभागी नहुन यादवमाथि पार्टीभित्रबाट दबाव छ । सरकारमा जान इच्छुक कतिपय नेताले प्रधानमन्त्रीले सार्वजनिकरुपमा संविधान संशोधन हुने कुरा बताइसकेकाले लिखि सम्झौताको अत्तो थाप्न नहुने बताइरहेका छन् । तर लिखित सहमति बिना सरकारमा जाँदा मधेसमा फोरम विरुद्ध अशन्तुष्टि बढ्ने र त्यसमा राजपाले खेल्ने डर यादवलाई छ ।

यादव निकट एक नेताले अनलाइनखबरसँग भने-संविधान संशोधन गर्न एमाले नभई हुँदैन । सरकार चलाउन हामी नभए पनि हुन्छ । तर हामीले बिना कुनै लिखत सरकारमा गयौं भने ठूलो आक्रोशको सामना गर्नुपर्ने हुन्छ । केही न केही बुँदा उल्लेख गरेर एउटा कागज गरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो, तर अहिलेसम्म प्रधानमन्त्रीले त्यसमा इच्छा देखाउनुभएको छैन भन्ने बि्रफिङ पार्टीमा उपेन्द्रजीले गर्नुभएको छ ।

यादवको चाहना लिखित सहमति सहित सरकारमा जाने र केही न केही काम सरकारमा बसेर गर्न पाए मधेशको पक्षमा हामीले काम गर्‍यौं भनेर देखाउन सकिन्छ भन्ने हो । त्यहि भएर उनले प्रचण्डलाई कन्भिन्स गरेर राजपालाई सरकार बाहिर राख्न सफल भए पनि आफ्नै सत्तारोहण भने अझै जुराउन सकेका छैनन् । उनले आइतवार त्यस्तै पर्‍यो भने प्रतिपक्षमै बस्नुपर्ने हुन्छ भनेका छन् ।

सरकारमा उपेन्द्र यादव जाने सहमति भइसके पनि बाँकी एक मन्त्री र राज्यमन्त्रीको टुंगो सरकारमा जाने निश्चित भइसकेपछिमात्र हुनेछ । फोरमबाट प्रतिनिधिसभाका १६ र राष्ट्रियसभाका दुई सांसद छन्,र उनीहरु सबै मन्त्रीका आकांक्षी हुन् । राजेन्द्र श्रेष्ठ, रेणु यादव,रामसहाय यादव,प्रदीप यादव, मोहम्मद इस्तियाक राई लगायतका नेता मन्त्रीका प्रमुख दाबेदार हुन् ।

विशेष गरी सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा जान मरिहत्ते गरेको आरोप पार्टी बैठकमै लागेको छ । तर, समानुपातिकतर्फ काठमाडौं जिल्लाभरिबाट ५ हजार भोट कटाउने हैसियत नभएका नेतालाई मन्त्री बनाउन नहुने आवाज विशेष गरी मधेसी मूलका नेताहरुले उठाएका छन् भन्दै अनलाइन खबरले समाचार लेखेको छ ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्