Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर १ को संसद् भवनमा असुरक्षा बढेको ठहर

विराटनगर : प्रदेश १ संसद् सचिवालयले प्रदेश संसद् र जिल्ला समन्वय समिति (जिसस) को कार्यालय एउटै भवनमा हुँदा असुरक्षा बढेको ठहर गरेको छ । सचिवालयले संसद् भवनको सुरक्षाका लागि जिसस कार्यालय अन्यत्रै सार्न प्रदेश सरकारसँग माग गरेको छ । मुख्यमन्त्रीको कार्यालयलाई सोमबार पत्राचार गर्दै संसद् सचिवालयले संसद्को ‘शान्तिसुरक्षा, सुव्यवस्था तथा गोपनीयताका लागि’ तत्कालै जिसस कार्यालय अन्यत्र सार्न माग गरेको हो ।

मुख्मन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारीलगायत सबै राजनीतिक दलको चाहना यस्तै भएकाले यसबारे छिट्टै ठोस निर्णय हुने आशामा संसद् सचिवालय छ । जिसस मोरङको अढाईतले भवनको भुइँतला प्रदेशसभाले प्रयोग गरिरहेको छ । प्रदेशसभा गठन भएपछि जिससले ‘केही समयका लागि’ भन्ने सर्त राखेर संसद्का लागि भवन उपलब्ध गराएको थियो ।

तर, जिसस कार्यालयसँगै रहँदा संसद्को सुरक्षा व्यवस्थामै खतरा उत्पन्न हुने निष्कर्षमा सचिवालय पुगेको हो । ‘संसद्का लागि आवश्यक पर्ने स्पेस नै पुगेको छैन, व्यवस्थापन ज्यादै कठिन भइरहेको छ’, संसद् सचिवालयका सचिव केदारप्रसाद पनेरुले नागरिकसँग भने ‘त्यसैले जिसस सार्न भनेर हामीले पत्राचार गरेका हौं।’

सचिव पनेरुका अनुसार जम्मा चारवटा हल भएको जिसस भवनको पहिलो तलामा दुईवटा हल थिए । त्यहीमध्ये एउटा हलमा संसद्को बैठक कक्ष छ भने अर्को हललाई बारेर दुईवटा कोठा बनाइएको छ, जहाँ संसद्का मर्यादापालक र कर्मचारीको कार्यकक्ष छ । त्यही लहरमा सभामुख, उपसभामुख तथा अन्य कर्मचारीको कार्यकक्ष रहेको छ ।

संसद् सचिवालयको मागबारे जिल्ला समन्वय समिति भने बेखबर छ। २०१९ सालदेखि जिल्ला पञ्चायतले यो भवन प्रयोग गर्दै आएको बताउँदै मोरङ जिसस प्रमुख नरेश पोखरेलले संसद् सचिवालयको मागबारे केही थाहा नभएको बताए । जिसस कार्यालयमा ऐतिहासिक दस्तावेजदेखि अन्य महत्वपूर्ण कागजात रहेको, अन्यत्र सार्दा ती कागजातको सुरक्षा कठिन हुने बताउँदै उनले ‘सुरुमा भवन उपलब्ध गराउँदै पनि जिसस रहने गरी संसद् राख्ने सहमति भएको’ स्मरण गरे ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्