Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदनमा सांसद : बैठक भन्दापनि मोबाइलबाट फोटोसेसनमै ब्यस्त

काठमाडौँ : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यूएस बंगला विमान दुर्घटनाका दिवंगतप्रति शोक व्यक्त गर्न मौनधारण चलिरहेको थियो । त्यति नै बेला कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमको मोबाइलको घन्टी बज्न थाल्यो । उनले फोन काटे तर पनि बज्न छाडेन ।

प्रधानमन्त्री केपी ओलीले संसद्लाई सरकारले दुर्घटनाका घाइतेको उद्धार र उपचारमा गरेको प्रगति सुनाइरहँदा पनि सत्तापक्ष र विपक्षी सांसदको मोबाइल बजिरहेकै थियो । कतिपय सांसद मोबाइलमै फेसबुक र अन्य अनलाइन साइट चलाइरहेका थिए । एमाले सांसद मुकुन्द न्यौपाने संसद् प्रवेश गरेदेखि अन्तिमसम्मै मोबाइलमै घोत्लिरहेका देखिन्थे । सभामुखको ठीक अघिल्लो भागमा रहेको सत्तापक्षको दोस्रो पंक्तिमा सुरेन्द्र पाण्डेसँगै बसेका थिए उनी । सँगै बसेका अरू सांसदको ध्यान पनि मोबाइलमै थियो । बैठक चलिरहँदा पाल्पाका सांसद सोमप्रसाद पाण्डेले मोबाइलमा के देखे भनी हेर्न सँगै बसेका रवीन्द्र अधिकारी र पार्वत गुरुङबीच हानथाप नै चल्यो ।


शुक्रबारको बैठकका कार्यसूची प्रधानमन्त्रीबाट सार्वजनिक महत्त्वको वक्तव्य र उपसभामुख निर्वाचन थिए । तर, उपस्थित २ सय ६१ सांसदमध्ये सत्तापक्षकाको ध्यान को–को मन्त्री बन्दै छ भन्नेमा केन्द्रित थियो । उनीहरू मोबाइलमा यिनै विषयका समाचार हेर्न व्यस्त थिए ।


उपसभामुख निर्वाचनको नतिजा आउन बाँकी थियो । सत्तापक्षको पछिल्लो पंक्तिबाट सांसद रामकुमारी चौधरी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालनजिक पुगिन् र उनलाई मोबाइलमा केही देखाइन् । दाहालले मोबाइल हेरेर टाउको हल्लाए । त्यसपछि उनी आफ्नै कुर्सीमा फर्कंदा सबैले हात मिलाएर बधाई दिए । शुक्रबारै साँझ भएको मन्त्रिपरिषद् विस्तारमा चौधरीले कृषि राज्यमन्त्रीका रूपमा शपथ लिइन् ।
सत्तापक्षको अघिल्लो पंक्तिमा रहेका भीम रावल ट्याब्लेट चलाउन व्यस्त थिए भने प्रदीप ज्ञवाली मोबाइलमा । परराष्ट्रमन्त्री बन्ने पक्का भएपछि दौरा–सुरुवाल लगाएर उपसभामुख निर्वाचनमा पुगेका ज्ञवाली घरी मोबाइलमा केही नियाल्थे त घरी कसैलाई ‘कल’ गर्थे ।


बैठक चलिरहँदा प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि मोबाइल प्रयोग गरिरहेका थिए । यस्ता क्रियाकलापले संसद् बैठक नभएर कुनै अनौपचारिक जमघटको झल्को दिइरहेको थियो । सांसदहरू बाध्यताले उपसभामुख निर्वाचनमा बस्नुपरेझैं देखिन्थे ।

संसद्मा मोबाइल चलाउनु प्रतिनिधिसभाको अन्तरिम सभा कार्यविधिविपरीत हो । कार्यविधिको नियम १४ अन्तर्गत सांसदले पालना गर्नुपर्ने नियमको (ञ) मा बैठक कक्षमा मोबाइल फोन तथा अन्य कुनै विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ । सत्तापक्ष र विपक्षी दलका शीर्ष नेता, मन्त्रीहरूले नै मोबाइल चलाएपछि अन्य सांसदले समेत नियम मान्न छाडेका छन् । पहिलो र दोस्रो बैठकमा अनुशासित देखिएका सांसद पछिल्लो बैठकमा भने सभातर्फ पीठ फर्काएर कुराकानी गरिरहेका समेत भेटिए । संसद्मा उनीहरू मोबाइल स्विचअफ त गर्दैनन् नै, साइलेन्स मोडमा समेत राख्दैनन् । बरु बैठक चलिरहेकै बेला हाकाहाकी कल ‘रिसिभ’ गर्छन् । उनीहरूको ध्यान बैठकभन्दा मोबाइलमै केन्द्रित थियो ।

संसद् बैठक बस्नुअघि माओवादी केन्द्र र एमाले सांसदलाई प्रशिक्षण दिँदै पूर्वसभामुख सुवास नेम्वाङले बैठकमा मोबाइल नचलाउन आग्रह गरेका थिए । तर, संसद्मा मोबाइल चलाउनेमा यिनै दुई पार्टीका सांसद अगाडि छन् । संसद् सचिवालयको कार्य व्यवस्थाका एक कर्मचारीले सांसदले आफैंले पारित गरेको नियम मिचेर बैठकमा ‘आफ्नो हैसियत बैठकमा प्रस्तुत गरेको’ टिप्पणी गरे भन्दै कान्पिुरमा समाचार छ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्