Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै पलाँदै कांग्रेसमा ‘गुट रोग’ : प्रतिपक्ष कमजोर बन्ने चिन्ता

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ । संविधानसभाको दोस्रो निर्वाचनबाट संसद्को पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्न भिन्न हुँदा राज्यका महŒवपूर्ण पदहरूसमेत गुमाउन पुगेको छ ।

आन्तरिक रूपमा बलियो हुनुपर्ने अवस्थामा समेत कांग्रेस एक हुन नसक्दा संसद्मा कांग्रेसले देखाउने प्रतिपक्षीको भूमिका समेत कमजोर हुने हो कि भन्ने आशंका बढ्न थालेको छ । मुलुकमा प्रजातन्त्र स्थापनादेखि राणा शासनको अन्त्य र राजतन्त्रको अन्त्य हुँदै गणतन्त्रको प्रारम्भसम्मको अनुभव प्राप्त कांग्रेस संविधान जारी गर्दै मियोको भूमिकामा रहँदा समेत पछिल्लो निर्वाचनको परिणामपछि संसद्मा एक चौथाइको स्थानमा खुम्चिन पुगेको हो ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइमा नेतृत्वमा विचारप्रतिको दर्शन, संगठन र नेतृत्व हाँक्ने क्षमता क्षीण हुँदा निर्वाचनमा कमजोर भएको कांग्रेस प्रतिपक्षमा समेत कमजोर हुने अवस्था आएको देखिन्छ । ‘बीपीदेखि सुशील कोइरालासम्म नेतृत्वमा रहँदा कांग्रेसभित्र विचार दर्शन, संगठन र नेतृत्वप्रतिको क्षमता थियो तर पछिल्लो नेतृत्व सबै कुरामा कमजोर हुँदा निर्वाचनदेखि प्रतिपक्षको भूमिकामा समेत कमजोर हुने अवस्था देखा परेको छ,’ आचार्यले राजधानीसँग भने ।

उनले आन्तरिक गुट उपगुटका कारण पछिल्लो समय प्रतिपक्षमा रहँदा समेत कांग्रेसप्रतिको चिन्ता र चासो झनै बढेको बताए । ‘कांग्रेसप्रतिको चिन्ता र चासो बढेको छ तर वर्तमान नेतृत्व निर्णय दिन सक्ने अवस्थामा छैन, गुट उपगुटकै कारण संसद्मा कांग्रेसको फितलो भूमिका हुन्छ कि भन्ने चिन्ता बढ्दो छ,’ आचार्य भन्छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल नेपालमा लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने चिन्ता कांग्रेससँग जोडिएकाले कांग्रेसप्रतिको चिन्ता जुनै निर्वाचनको परिणामपछि पनि उत्तिकै रहँदै आएको दाबी गर्छन् । कांग्रेसप्रतिको जन चिन्तालाई मेट्न शीर्ष नेतृत्वले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दाहाल बताउँछन् ।

‘नेपालमा लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने चिन्ता कांग्रेससँग जोडिएको छ, नेपालमा कांग्रेसको विकल्पमा अर्को वैकल्पिक लोकतान्त्रिक शक्ति नहुँदा कांग्रेसप्रतिको चिन्ता र चासो रही नै रहन्छ,’ दाहालले भने, ‘अब कांग्रेसलाई बलियो बनाउन शीर्ष नेतृत्वले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।’ वरिष्ठ पत्रकार दाहालले वर्तमान अवस्थामा कांग्रेसको जिम्मेवारी संसद्मा बलियो प्रतिपक्षका रूपमा रहनुपर्ने औंल्याए । उनले कांग्रेसभित्रको गुट उपगुटका कारण कांग्रेसप्रतिको निराशा निर्वाचनमार्फत पोखिएको समेत बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्