Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सांसद शिवमाया तुम्बाहाम्फे भइन् उपसभामुख

काठमाडौँ : एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छन् ।कांग्रेस उम्मेदवार पुष्पा भूसाललाई हराउँदै तुम्बाहाम्फे उपसभामुख निर्वाचित भएकी हुन् । वाम गठबन्धनकी तुम्बाहाम्फेले २०१ मत पाउँदा भूसालले ६१ मत पाइन् । ५३ वर्षीया तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको प्रस्ताव र एमालेका रवीन्द्र अधिकारीको समर्थनमा तुम्बाहाम्फे उपसभामुख भएकी हुन् । सभामुख निर्वाचनमा गठबन्धनकै कृष्णबहादुर महराविरुद्ध उम्मेदवार नउठाएको कांग्रेसले उपसभामुखमा भने भूसाललाई अघि सारेको हो ।

एमाले र माओवादी केन्द्र एकीकरण नजिक रहेको भन्दै कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख–उपसभामुख एकै पार्टीले लिन नमिल्ने तर्क गरेको छ । तर, गठबन्धनले पार्टी एकीकरण नभएको बताउँदै जनमतको कदर गर्न विपक्षीलाई अपिल गरेको छ ।

तुम्बाहाम्फे लामो समयदेखि एमालेको राजनीतिमा थिइन्। उनी एमाले निकट अनेरास्ववियुको तत्कालीन प्रारम्भिक कमिटी अध्ययन दलबाट राजनीतिमा लागेकी हुन् । तेह्रथुममा जन्मिएकी तुम्बाहाम्फेले झापाको गौरादहमा अध्ययन गरेकी हुन् भने मोरङ केन्द्रित भएर राजनीति गरिन् । उनी २०५२ सालमा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म पुगेर विद्यार्थी राजनीतिबाट बिदा भएकी थिइन् ।

२०४७ सालमा पार्टी सदस्यता लिएकी तुम्बाहाम्फे काठमाडौंमा तीन वर्षअघि भएको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् । उनी एमाले मोरङ ईञ्चार्ज हुन् ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्